कृषकलाई रु डेढ करोड अनुदान

Share Icon

२४ फागुन,म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९-८० मा रु डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ ।

रु एक करोड ५१ लाख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख किरण सिग्देलले ९२ वटा कृषि फार्म, सहकारी र समूह अनुदानका कार्यक्रममा छनोट भएका जानकारी दिनुभयो ।

“सार्वजनिक सूचना आह्वान गरेर सङ्कलन भएका आवेदनको स्थलगत मूल्याङ्कन गरी मापदण्डमा पर्नेलाई छनोट गरिएको हो,” उहाँले भन्नुभयो, “छनोट भएकाहरुलाई सम्झौता गर्न बोलाएका छौँ ।”

रु ३० लाख बजेट विनियोजन भएको साना सिँचाइ कार्यक्रममार्फत १५ वटा फार्म, सहकारी र समूहले सिँचाइ नहर, पाइप खरिद जडान र ट्याङ्की निर्माण गर्न कूल लागतको ९० प्रतिशत अनुदान पाउने भएका छन् ।

साना सिँचाइ कार्यक्रमका लागि २२ वटा आवेदन परेको थियो । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले रु २५ लाख बजेट विनियोजन भएको आलु खेती प्रवर्द्धन कार्यक्रमका लागि १८ वटा आवेदन परेकामा छनोट भएका १० वटा समूहले प्रस्ताव गरेका कार्यक्रम गर्न कूल लागतको ५० प्रतिशत अनुदान पाउने बताउनुभयो ।

रु ६० लाख बजेट विनियोजन भएको साना व्यावसायिक कृषि फार्म कार्यक्रममा ९८ वटा आवेदन परेकामा ३० वटाले कूल लागतको ५० प्रतिशतका दरले अधिकतम रु दुई लाखसम्म अनुदान पाउने भएका छन् ।

रु पाँच लाख बजेट भएको बाँझो जग्गामा प्रोत्साहन कार्यक्रममा आवेदन पेस गरेका सबै १३ वटै फार्मले प्रतिरोपनी रु पाँच हजारका दरले अनुदान पाउनेछन् । कलस्टरमा रैथाने बाली कार्यक्रमका लागि सातवटाको आवेदन परेकामा पाँचवटा छनोट भएका छन् ।

५० प्रतिशतका दरले अनुदान दिइने यो कार्यक्रममा रु पाँच लाख बजेट छ । आलु, दलहन, तेलहन र तरकारीको जिल्लास्तरमा बीउबिजन आत्मनिर्भर कार्यक्रममार्फत दुईवटा फार्मले रु तीन लाख अनुदान पाउनेछन् ।

रु १० लाख बजेट भएको विशेष बाली प्रवर्द्धन कार्यक्रममार्फत ६ वटा फार्म छानिएका छन् । ९० प्रतिशत अनुदान रहेको यो कार्यक्रममा १० वटा आवेदन परेको थियो ।

रु तीन लाख बजेट भएको क्षेत्रफलका आधारमा तरकारी उत्पादन प्रोत्साहन कार्यक्रमका लागि आठवटा फार्म छानिएका छन् । प्लास्टिक घरमा प्रति एक सय वर्गमिटर र खाली जग्गामा प्रतिरोपनी रु तीन हजारका दरले अनुदान पाउनेछन् । यो कार्यक्रममा नौवटा आवेदन परेको थियो ।

मसला प्रवर्द्धन कार्यक्रममा छनोट भएका दुईवटा फार्मले अदुवा, अलैँची, बेसार, प्याज, लसुन खेतीका लागि रु पाँच लाख अनुदान पाउने भएका छन् ।

फलफूल, तरकारी तथा नगदेबालीको बिरुवा नर्सरीको कार्यक्रममा चारवटा आवेदन परेकामा छनोट भएको एकवटा फार्मले रु पाँच लाख अनुदान पाउने कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो ।

केन्द्र अन्तर्गतका अन्य कार्यक्रममा अनुदानका आवेदन पेस गरेकाहरुको पनि स्थलगत निरीक्षण र मूल्याङ्कनको काम भइरहेको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.