३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो

Share Icon

काठमाडौं । चिनियाँसँगमिलेर ३ खर्बभन्दा बढी लगानीमार्फत हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बुटवल पावर कम्पनीलाई धक्का लागेको छ। एकपछि अर्को भारतीय कम्पनीहरूले नेपालमा ठूला आयोजना बनाउन चासो दिएसँगै बुटवल पावर कम्पनी अफ्ठ्यारोमा परेको हो।

गत असारमा बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब रुपैयाँ लगानीमा कम्तिमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको थियो। बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीहरूबीच २ देखि ५ वर्षमा ३ अर्ब डलर लगानी गर्नेगरी साझेदारीसमेत भएको थियो।

चिनियाँसँग मिलेर बनाउँदा बिजुली बिक्रीको बजार नै नपाउने देखिएपछि बुटवल पावर चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट टाढा भएको छ। कम्पनी स्रोतका अनुसार अब भारतीय कम्पनीसँग मिलेर अगाडि बढ्नेगरी काम अगाडि बढेको जानकारी दिएको छ। बुटवल पावरले पाँच वर्षअघि नै चिनियाँ कम्पनीसँगको साझेदारीमा जलविद्युतमा लगानी भित्र्याउन सिचुवान प्रोभिन्सल इन्भेष्टमेन्ट गु्रप कम्पनी लिमिटेड (एससीआईजी) स्थापना गरेको थियो। यो कम्पनीमा बीपीसीको २२.४० र बाँकी चिनियाँ कम्पनीको सेयर हुनेगरी बीपीसीले १ अर्ब ९० करोड रुपैयाँ पुँजी राखेर कम्पनी नै खडा गरेको थियो।
मुख्य साझेदार एसजीआईजीको ४९.४७ प्रतिशत, चेङ्गदु सिंचेन इन्भेष्टमेन्टको १६.४९ प्रतिशत र छिमयूआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेड (क्युवाइसी) को ११.६४ प्रतिशत सेयरसमेत रहेको छ।

कम्पनीले सुरुमा सय मेगावाटको तल्लो मध्य–मर्स्याङ्दीमा लगानी गर्ने र भविष्यमा अन्य सहायक कम्पनी गठन गरेर अर्धजलाशय आयोजनामा लगानी गर्ने लक्ष्य राखेको थियो। गत असारमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल र चिनियाँ लगानीकर्ता कम्पनीका तर्फबाट निर्देशक वु यङले विद्युत् विकास सम्झौतामा हस्ताक्षर गरेका थिए। १ सय ३५ मेगावाटको मनाङ मस््र्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट निर्माणको लागि यस्तो सम्झौता गरिएको थियो।

चिनियाँ साझेदारीमा त्यसपछि १३९ मेगावाटको लोअर मस्र्याङ्दी र ३ सय २७ मेगावाटको अपर मस्र्याङ्दी जलविद्युत् आयोजनाको विकास गरिने लक्ष्य राखेको थियो। आयोजनाहरूबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको थियो।

बि.स. २०२० सालमा स्थापना भएको बुटवल पावर कम्पनी एक पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले ३७.६ मेगावाटको कावेली “ए” हाइड्रोपावर प्रोजेक्ट र ३० मेगावाटको न्यादी हाइड्रोपावर प्रोजेक्टको सुरुवात गरेको थियो। बीपीसीले १२ मेगावाटको झिम्रुक र ९.४ मेगावाटको आँधिखोला पावर प्लान्ट सञ्चालन गर्दै आएको छ।

कम्पनीले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी भित्र्याउने तयारी गरेको छ। बीपीसीले २०७४ सालमा यो जलविद्युत आयोजनाको सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो। आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको हुनेछ। आयोजनाले वार्षिक करिब ९९४ गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ। विस्तृत सम्भाव्यता अनुसार ग्रस हेड २६३ मिटर रहेको छ। हेडरेस टनेल १४ किमि रहेको छ।

बीपीसीको पहिलो आयोजना १ मेगावाटको तिनाउँ हो। यसपछि कम्पनीले स्याङ्जामा ५.१ मेगावाटको आँधीखोला निर्माण ग¥यो। पछि यही आयोजनाको क्षमता विस्तार गरी ९.४ मेगावाटमा निर्माण गरियो।

प्युठानमा १२ मेगावाटको झिमरुक तथा लमजुङमा ४.२ मेगावाटको खुदी बीपीसीले निर्माण गरेका आयोजना हुन्। यी आयोजनाबाट निरन्तर विद्युत उत्पादन भइरहेको छ ।

नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बीपीसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ। खिम्तीबाट प्राप्त हुने वार्षिक मुनाफाले कम्पनीको वित्तीय अवस्था थप दरिलो बनाएको छ।

जलविद्युत विकासमा सशक्त र संगठितरूपमा अघि बढिरहेको बीपीसीले हालसम्म २६.६ मेगावाटका चार आयोजना सञ्चालन गरिरहेको छ। यस्तै, ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी निर्माणाधीन छन्। सय मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी अध्ययन भइरहेको छ।

नेपालका जलविद्युत आयोजनाहरू भारतीय लगानीकर्ताको चासोमा पर्न थालेका छन्। विगतमा खासै लगानी गर्न इच्छुक नदेखिएका भारतका निजी क्षेत्रका कम्पनीहरू पछिल्लो समय जलविद्युतमा लगानी गर्न आकर्षित हुन थालेका छन्।

वर्षौंदेखि छनोट भएर पनि निर्माणमा जान नसकेका आयोजनाहरू पनि भारतीय लगानीकर्ताको नजरमा परेको छ। यतिबेला दर्जनौँ आयोजनामा भारतीय लगानीकर्ताको चासो देखिएको छ। भारतीयहरू नेपालमा छिटो आयोजना बनाउने र भारतको ठूलो बजारमा बिजुली बिक्री गर्न लैजाने हतारोमा देखिन्छन्।

नेपाल सरकारले साथ दिएमा ५ हजार ४ सय ५ मेगावाट क्षमताका आयोजना केही वर्षभित्रै निर्माणको चरणमा लैजाने भारतको तयारी छ। भारतीय कम्पनीहरूले अहिले नै लगानी बोर्ड, ऊर्जा मन्त्रालयसँगको समन्वयमा ८ वटा आयोजनामा लगानीको तयारी गरेका छन्। जसमा एउटै आयोजनामा १ खर्ब ५० अर्बभन्दा बढी लगानी हुनेछ। भारतीय र नेपाली पक्षको सहमति भएमा केही वर्षभित्रै भारतीय कम्पनीहरूले १५ खर्ब रूपैयाँभन्दा बढी लगानी गर्नेछन्।

भारतीय कम्पनीहरूले अहिले ९ सय मेगावाटको अरुण तेस्रो, ७५० मेगावाट क्षमताको पश्चिम सेती, ४५० मेगावाट सेती नदी–६, ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत, ६७९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण–४ जलविद्युत, ७५६ मेगावाटको तमोर र ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना भारतीय चासोमा छन्। कुनै निर्माणको चरणमा प्रवेश गरेका छन्। कुनै आयोजनाको सम्झौता भएर काम अगाडि बढेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.