Share Icon

१८ फागुन,काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ ।नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो ।

पतञ्जलि योग समिति नेपालको सहयोगमा सुरु भएको निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयवासीको पनि सहभागिता छ ।

योग शिविरको शुभारम्भ गर्नुहुँदै गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

नगर क्षेत्रमा हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । नगर उपप्रमुख सान्नानी लामाले विद्यालय तहदेखि नै योगको जागरणका लागि नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरिएको बताउनुभयो ।

वडा नंं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदी एवं वडा नं. ६ का अध्यक्ष नवराज लामाले शारीरिक एवं मानसिक स्वस्थताका लागि सबैलाई नियमित योग अभ्यासमा प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साधवी देवादितीले प्रशिक्षण दिनुभएको कार्यक्रममा पतञ्जलि योग समिति वाग्मती प्रदेशका सहप्रभारी मोहनमान श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, महिला अध्यक्ष हीरा अधिकारी, गोकर्णेश्वरका नगर संयोजक प्रमेश अधिकारीलगायतका योग प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments Box

Share Icon