Share Icon

७ फागुन,खोटाङ । विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो ।

धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो ।

सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि मेला बन्द गराएको जनाइएको छ । खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सिमाना भएर बग्ने सावाखोलामा रहेको भानुमतिमा मेला लगाउने विषयमा दुई गाउँपालिकाबीच समन्वय तथा सहकार्य गरेर मेला लगाइएको हो ।

“सानै हुँदा मेरो आमाले भनेको सुनेको त्यो बेला सतिप्रथा थियो रे । वरिपरिका मानिस मरेपछि त्यहीँ सद्गत गरिन्थ्यो रे, अहिले पनि घाट त्यहीँ छ । कत्ति महिला सति गएको आमाले देख्नुभएको रे । त्यो बेला नि त्यहाँ विशाल मेला लाग्थ्यो रे”, जन्तेढुङ्गा गाउँपालिका–५ वाचिपालाका ९९ वर्षीय डम्बरसिंह राईले भन्नुभयो, “मैले पनि पछि मेला भरेँ । ठूलो मेला लाग्थ्यो । १५ दिनसम्म म नै त्यो मेलामा कत्ति बसेँ । त्यो बेला पुलिस थिएनन् । जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थियो । मेला भर्न काठमाडौँदेखि महिनौँ हिँडेर मान्छे आउथे ।”

“रक्सी खाने, झगडा र मारामार भएपछि विसं २०३२ मा पर्शुराम घोडा चडेर आएर मेला बन्द गराएको हो । त्यसपछि पनि मान्छेले टेरेनन् । पछि केही वर्ष मेला लाग्यो । अनि आफैँ बन्द भयो”, राईले भन्नुभयो, “म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ । बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागँे । अब त प्रहरी छ, बेथिति छैन । सबै पढेलेखेका छन् । फेरि मेला सुरु भएछ । खुसी लाग्यो ।”

पन्ध्र दिनसम्म लाग्ने भानुमति मेलामा छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, उदयपुरलगायतका दर्शनार्थी तथा व्यापारीले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्र सावाखोलामा पर्ने भानुमतिमा जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले मेला सुरुवात गराएको हो ।

प्रसिद्ध धार्मिकतीर्थस्थल भानुमतिको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले मेलाको सुरुवात गरिएको बताएको छ । मेलाको उद्घाटन निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्नुभएको छ ।

मेला उद्घाटन कार्यक्रममा खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, उपप्रमुख खड्काको उपस्थिति थियो । भानुमतिमा लागेको धार्मिक मेलामा भक्तजन तथा दर्शनार्थीको भीड लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

सतिदेवीको बाँया खुट्टा पतन भएको यस स्थानमा भानुमतिमा खुट्टेश्वर महादेव उत्पन्न भइ बसेको मान्यता छ । भानुमतिमा हरेक वर्षको पुस मसान्तदेखि माघ-१ गतेसम्म मकर नुहाउँने चलन पनि छ ।

साथै भानुमति मृत शरीरको दाहसत्कार गर्ने मुख्य थलोको रुपमा रहेकाले दिवङ्गत आत्मा र आफ्ना पितृका लागि पूजाआजा लगाउने गरिन्छ । भानुमतिको दर्शन गरे रोगब्याधी नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने लगायतका जनविश्वास छ । भानुमति जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा परेको छ ।

Facebook Comments Box

Share Icon