Share Icon

२ फागुन,पाटन । आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिताले अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट रु २० लाखको राहत तथा उद्धारकोष स्थापना गर्नुभएको हो ।

गत वर्ष माघ २३ गते आगलागीमा परेका छिमेकी ७० वर्र्षीय खड्गबहादुर लिम्बूकी श्रीमती सुष्मालाई बचाउन जाँदा ग्यास सिलिण्डर पड्किएर दन्किएको आगोमा परी विप्लवले ज्यान गुमाउनुभएको थियो । सोमबार आयोजित विप्लभको श्रद्धाञ्जली सभामा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री केशवप्रसाद पोखरेलले विप्लवले साहसका साथ काम गरेर युवालाई सामाजिक दायित्वतर्फ मार्गनिर्देश गरेको बताउनुभयो ।

सांसद डा तोसिमा कार्कीले विप्लभ आफू मरेर पनि अरुलाई उद्धार गरेर सदैव धन्यवादको पात्र भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अक्षयकोषका लागि महानगरले रकम उपलब्ध गराउनेछ भन्नुभयो ।

कोषमा आगलागीबाट उद्धार गरिएका छिमेकी खड्गबहादुरले पाँच लाख, मन्त्री पोखरेलले ५० हजार र सांसद कार्कीले एक महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

Facebook Comments Box

Share Icon