सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

Share Icon

४ माघ,बेदकोट । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो ।

“पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उहाँका अनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

“ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, उहाँले भन्नुभयो, “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।” ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

“नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन”, उहाँले भन्नुभयो, “त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षमा कञ्चनपुरमा एक सय ९० सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७-७८ मा ९३ र आव २०७८-७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९-८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७-७८ मा ३५ र २०७८-७९ मा ३३ जनाको मृत्यु भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.