Share Icon

एजेन्सी । चीनमा निर्मित विद्युतीय सवारी (ईभी) आयातमा प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दबाब पर्न थालेको छ।

माथिल्लो सदन सिनेटको ब्यांकिङ कमिटीका प्रमुख सिनेटर सेरड ब्राउनले ‘चिनियाँ ईभी अमेरिकाको अटो उद्योगका लागि अस्तित्वकै खतरा’ भएको बताएका छन्।

चिनियाँ ईभीप्रति अमेरिकी सांसदले दिएको यो सबैभन्दा कडा अभिव्यक्ति हो। अन्य सांसदहरुले चिनियाँ ईभीलाई अमेरिकी बजारमा छिर्न नदिन ठूलो मात्रामा कर लगाउन आग्रह गरेका छन्।

गत फेब्रुअरीमा चिनियाँ कारले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्छ कि भन्ने विषयमा छानबिन भइरहेको ह्वाइट हाउसले जनाएको थियो।

डेमोक्र्याटिक पार्टीका सिनेटर ब्राउन कार उद्योग रहेको ओहायो राज्यका हुन्। उनी आउँदो निर्वाचनमा चौथो पटकका लागि उम्मेदवार बन्दैछन्।

चिनियाँ कारले संवेदनशील डेटा संकलन गर्नसक्ने भन्दै त्यसमा प्रतिबन्धको माग पनि भइरहेको छ।

चीन विश्वको सबैभन्दा ठूलो कार निर्माता हो। प्रमुख कार निर्यातकर्ता बन्दै गरेको चीनले जापानसँग प्रतिस्पर्धा गरिरहेको छ।

यसैसाता बेइजिङ भ्रमणमा गएकी अमेरिकी ट्रेजरी सेक्रेटरी यानेट एलेनले चिनियाँ सामान अमेरिकी बजारमा प्रवेश गर्दा सन् २००० को दशकको सुरुवातमा अमेरिकाले भोगेको ‘चिनियाँ झट्का’ दोहोरिन नदिने बताइन्।

प्रत्युत्तरमा चिनियाँ उपअर्थमन्त्री लियाओ मिनले अमेरिकाले व्यापार र लगानीमा लगाएको प्रतिबन्धप्रति गम्भीर चासो व्यक्त गरेका थिए।

बिहीबार नै अमेरिकाका ठूला एयरलाइन्सहरुले अमेरिका र चीनबीच थप उडान अनुमति नदिन आग्रह गर्दै यातायातमन्त्रीलाई पत्र लेखेका छन्।

चीनको हवाई बजारलाई बेरोकटोक बढ्न दिने हो भने अमेरिकी कामदार र व्यवसाय थला पर्ने उनीहरुको भनाइ छ।

यी विश्वका दुई ठूला अर्थतन्त्र सन् २०१८ देखि नै व्यापार युद्धमा छन्।

Facebook Comments Box

Share Icon