Share Icon

इस्लामावाद । पाकिस्तानमा बिहीबार भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधान सभाको चुनाव भएको थियो । चुनावी परिणामले खण्डित जनादेश देखाएको छ ।

डनका अनुसार ५७ सिटमा पूर्व क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधान सभामा ठुलो बहुमत पाएका छन् ।

पन्जाब विधान सभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज शरीफको मुस्लिम लिगलाई राम्रो प्रतिस्पर्धा दिँदा ५७ सिट पीटीआई समर्थित उम्मेदवारको पोल्टामा गएको छ । रोचक कुराचाहिँ के भयो भने इमरान खान जेलभित्र छन् । निर्वाचन आयोगले पीटीआईको चुनाव चिह्न क्रिकेट ब्याट खोसिदियो । जसका कारण पीटीआईका उमेदवारहरु स्वतन्त्र रूपमा चुनावमा उठे ।

तीन पटकका प्रधानमन्त्री नवाज शरिफको पार्टीले ४३ सिटमा जितेको छ भने बिलवाल भुट्टोको पार्टीले २८ सिटमा जित हात पारेको छ । खानको पार्टीको चुनाव चिह्न खोसिएपछि पीटीआई समर्थित उम्मेदवारहरू स्वतन्त्र उम्मेदवार बने । त्यसैले आफ्नो पीएमएल–एन एक्लो ठुलो दल बनेको दाबी शरिफले गरेका थिए ।

पाकिस्तानले अहिले झै झगडा बेहोर्न सक्ने स्थिति नभएकोले आफूहरूले झैझगडा नचाहेको उनको भनाई थियो । पाकिस्तानको अहिलेको अवस्था हेर्दा कम्तीमा पनि १० वर्षसम्म कुनै पनि दलसँग सरकार गठनको लागि आवश्यक स्पष्ट बहुमत छैन । यसैबिच शरिफले पाकिस्तानलाई अहिलेको अप्ठ्यारो स्थितिबाट बाहिर निकाल्न सबै राजनीतिक दलहरु एक ठाउँमा बसेर छलफल गरी नयाँ सरकार गठन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरुसँग के छ विकल्प ?

स्वतन्त्र उम्मेदवारलाई राजनीतिक दलमा आबद्ध हुन कानुनी रूपमा आवश्यक नरहेको निर्वाचन ऐनलाई उद्धृत गर्दै विश्लेषकहरू बताउँछन् । अर्थात् यसको अर्थ उनीहरूले चाहेमा राष्ट्रिय वा प्रदेशसभामा स्वतन्त्र रूपमा रहन सक्छन् । तर, विभिन्न कारणले राजनीतिक दलमा आबद्ध हुने अपेक्षा गरिन्छ ।

राजनीतिक विश्लेषक रफिउल्लाह कक्कडका अनुसार स्वतन्त्र उम्मेदवारको राजनीतिक दलमा प्रवेश गर्नुको उद्देश्य आफ्नो राजनीतिक करियर निर्माण गर्ने, आफूलाई राजनीतिक विचारधारासँग जोड्ने वा संसदमा बढी सक्रिय भूमिका खेल्ने हुनसक्छ ।

विजयी भएपछि यी उम्मेदवारहरूसँग राजनीतिक दलमा प्रवेश गर्ने तीन दिनको समय हुनेछ । निर्वाचन आयोगको नियमअनुसार मतपत्रमा निर्वाचन चिन्ह दिइएको दलमा स्वतन्त्र उम्मेदवारले मात्रै प्रवेश गर्न पाउने उनी बताउँछन् ।

रफिउल्लाह काकर भन्छन्, “पाकिस्तान तहरीक–ए–इन्साफ अब सक्रिय छैन, त्यसैले यी स्वतन्त्र उम्मेदवारहरूका लागि कुन पार्टीमा प्रवेश गर्ने भन्ने निर्णय गर्नु ठुलो चुनौती हुनेछ ।’ चुनावअघि तहरीक–ए–इन्साफका नेताहरूले भने कुनै राजनीतिक दलमा प्रवेश गर्न सक्ने संकेत गरेका थिए ।

यतिबेला केही विश्लेषकहरूले यी स्वतन्त्र उम्मेदवारहरूलाई पीटीआईमा सामेल हुने अनुमति दिनुपर्ने बताइरहेका छन् । उनीहरुले चोहमा पिपुल्स पार्टी र अर्को सानो दलसँग मिलेर पनि सरकारी गठबन्धन बनाउन सक्छन् ।

Facebook Comments Box

Share Icon