Share Icon

काठमाडौँ । चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्। मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै खन्न थालिएको स्वयम्भूदेखि बसुन्धरा खण्ड बजेट अभावले अलपत्र भएसँगै सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन्।

सडक विस्तारका लागि यो खण्डको दुवैतर्फ खन्ने काम भएको छ। तर, त्यसपछि थप काम अघि नबढ्दा धूलोले सडक कुहिरीमण्डल बन्ने गरेको छ। सडक विभागले चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन आतुर रहेको जनाएपनि अहिलेसम्म आयोजनाको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विभागमा आइपुगेको छैन। यस सडक खण्डको डीपीआर तयार गर्ने जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले पाएको छ। त्यसले डिपिआरलाई अन्तिम रूप दिन नसक्दा र प्रक्रिया पूरा गरेर ठेकेदार पठाउन समय लाग्ने सडक विभाग स्रोतले जनाएको छ।

चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्डको विस्तार गर्ने नेपाल सरकार र चिनियाँ सरकारबीच द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ पक्षले चक्रपथको कलंकी–बसुन्धारा खण्डको मुख्य ट्रयाक (लेन) निर्माण आफ्नै लगानीमा गर्ने र नेपाल सरकारले सर्भिस ट्र्याक (सहायक लेन) बनाउने र अन्य सहजीकरणको काम गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार चीन सरकारले बनाउने भनिएको मुख्य ट्र्याकको डिजाइन चीन आफैंले गरिरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए।

‘सम्झौताअनुसार चीन आफैंले डिजाइन गरिरहेको छ। हाम्रो तर्फबाट के कस्तो बनाउने भनेर सबै फाइनल भइसकेको छ,’ उनले भने,‘उनीहरूले डिपिआर बनाएर नेपाल पक्षलाई पेस गरेपछि मात्र काम अघि बढ्ने हो।’ ५/६ महिनाभित्रै तयार हुनसक्ने आशमा विभाग रहेको जनाउँदै उनले थपे, ‘तर अहिले हामी आफैं अपडेट हुन सकिरहेका छैनौ।’

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलका अनुसार चिनियाँ पक्षले कामको प्रगतिबारे प्रष्ट जानकारी दिएको छैन। के भइरहेको छ र काम कहाँ पुग्यो स्पष्ट प्रगति विवरण नआएको जनाउँदै उनले भने, ‘केही नयाँ प्रगति भएजस्तो लाग्दैन।’

यता सडक विभागको विकास सहायता महाशाखाका प्रमुख विजयकुमार जैसीले उक्त खण्ड सडक विस्तारका लागि चीनले परामर्शदाता छनोट गर्न बाँकी नै रहेको जानकारी दिए। परामर्शदाता छनोटपछि चिनियाँ पक्ष नेपाल आएर चक्रपथमा सर्भे गरेर डिजाइन तयार गर्ने र त्यसपछि मात्रै चीनले ठेकेदार छनोट गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए। ‘गत हप्ता चिनियाँ पक्षसँग सम्पर्क भएको थियो, उनीहरूले परामर्शदाता छनोट गर्न क्रममै रहेको बताएका छन्। परामर्शदाता र ठेकेदार छनोटको काम नै नसकिएपछि उनीहरू आएर काम सुरु गर्न कम्तीमा एक वर्ष लाग्छ,’ उनले भने। जैसीका अनुसार अध्ययन सकिएपछि उनीहरूले नै ठेक्का लगाएर काम गर्ने हुँदा भौतिक रूपमा काम हुन कम्तीमा एक वर्षको समय लाग्नेछ।

अलपत्र सर्भिस ‘लेन’
डीपीआर नआउँदा मुख्य ‘लेन’ को काम सुरु हुन नसके पनि सरकारले निर्माण गर्नुपर्न सहायक लेन मुख्य लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाएको थियो। अहिले सर्भिस लेन निर्माणका लागि बजेट नहुँदा काम प्रभावित बनेको छ।

कलंकीदेखि स्वयम्भूसम्म काम सकिए पनि स्वयम्भूदेखि बसुन्धरासम्म बजेट पर्याप्त नहुँदा काम नसकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले बताए। ‘बजेटको समस्याबाट यो आयोजना पनि अछुतो छैन,’ उनले भने, ‘बजेट अभावले ठेक्का लगाएका अधिकांश आयोजनामा कसरी काम सक्ने भन्ने समस्या थपिएको छ। हामीले अर्थ मन्त्रालयमा विभागको तर्फबाट भनेको छौ, तर आएको छैन। अहिले काम रोकिएको छ भन्नुपर्छ।’

Facebook Comments Box

Share Icon