पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

Share Icon

४ फागुन,बलेवा । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो ।

पानीको स्रोत संरक्षण, जङ्गलभन्दा तल्लो भूभागमा रहेका पानीका मुहानको ‘रिचार्ज’ गर्ने र जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा पाँच र २०७८/७९ मा छ गरी कूल ११ वटा पानीपोखरी निर्माण सम्पन्न भएका छन् । चालू वर्षमा पनि छ पोखरीका योजना स्वीकृत भएका छन् ।

“कच्ची पोखरी निर्माणले पानीको सञ्चिती बढाउँछ, अग्ला पहाडमा बनेका पोखरीले तल्लो भूभागमा रहेका पानीका मुहानलाई सघाउँछन्”, अधिकारीले भन्नुभयो, “बढ्दो जनसङ्ख्याको मागअनुसार खानेपानी पु¥याउन दीर्घकालीनरुपमा पोखरीले महत्व राख्छन् ।” कार्यालयले चालू आवमा जैमिनी, बागलुङ नगरपालिका, बरेङ, काठेखोला, निसीखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एक/एक पोखरी निर्माणको योजना छ । सामुदायिक वनबाट प्रस्ताव प्राप्त भए पनि निर्माण नभएको कार्यालयले जनाएको छ ।

अभियानको पहिलो वर्ष रु पाँच लाख ६५ हजार लगानीमा बडिगाड–४ को ठूलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हिराताल पर्यटकीय सामुदायिक वन, तमानखोला–२ को रानीवन सामुदायिक वन, बरेङ–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमूल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरा निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो ।

गत वर्ष पोखरी निर्माणका लागि प्राप्त १० लाखमध्ये आठ लाख ३० हजार लागतमा बरेङ–२ को पधेराडाँडा महिला, बागलुङ नगरपालिका–३ को रातमाटा, गलकोट नगरपालिका–७ को लाम्दारा, काठेखोला गाउँपालिका–५ को शिवधुरी र बागलुङ नगरपालिका–७ को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

कार्यालयले पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयल एक लाख उपलब्ध गराउँदै आएको छ । कार्यालयले उपलब्ध गराउने रकमबाहेक थप १० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ ।

सकेसम्म पानीको मुहान नजिकै पोखरी निर्माण गरिन्छ । मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको बडिगाड गाउँपालिका सव डिभिजन वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिनुभयो । मुहान नजिक नभएको र पाइप खरिद गर्न बजेट अभाव भएको ठाउँमा आकासे पानी संरक्षण गरी पोखरीमा जम्मा गरिएको उहाँको भनाइ छ ।

वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्त सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि कार्यालयले पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउन पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ ।

मानिसले आफ्नो प्रयोगका लागि मुहानमा सिमेन्ट प्रयोग गरी पक्की घेराबन्दी गर्ने तथा पाइपमार्फत सिधै ट्याङ्कीमा पानी पु¥याउँदा पानीको खोजीमा वन्यजन्तु बस्ती पस्दा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । वनमा पोखरी निर्माण भएपछि पानीको खोजीमा वन्यजन्तु बस्ती नपस्ने उहाँको भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.