Share Icon

१२ कात्तिक, काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार इजरायल र लेबनानको सीमाक्षेत्रमा दुई पक्षबीचको युद्धका क्रममा नेपाली शान्ति सैनिकको फौज बसेको बंकरमा खसेको पुष्टि भइनसकेको हतियारको छर्रा लाग्दा एकजना घाइते भएका हुन् । स्थानीय समयअनुसार शनिबार राति करिब १० बजेको समयमा उक्त घटना भएको उनको भनाइ छ ।

‘बंकरमा खसेको सेल कुन हतियारको हो भन्ने पुष्टि भइसकेको छैन । मोर्टार सेल वा रकेटको सेल हुनसक्ने अनुमान मात्रै हो’, भण्डारीले भने, ‘घाइते एक जनाको दायाँ हात र पेटको दायाँ भागमा सामान्य चोट लागेको छ । घाइतेलाई बटालियनको मेडिकल क्याम्पमा प्राथमिक उपचार गरेर शान्ति सैनिकको उपचार गरिने नाकुरा अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको छ ।’

Facebook Comments Box

Share Icon