इन्द्रजात्रा पर्व आज विविध कार्यक्रम गरी मनाइँदै

Share Icon

११ असाेज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा-आजा गरी ८ दिनसम्म मनाउने प्रचलन रहेकाे छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्र जात्रालाई लिइन्छ ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरी भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात लडाउने विधान रहेको ‘भरणी नक्षत्र’को रातमा लडाउने शास्त्रीय व्यवस्था समेत रहेकाे छ ।

इन्द्र जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ।

 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.