Share Icon

२ कार्तिक,काठमाडौं । बडादशैंको पाँचौं दिन बिहीबार देवी दुर्गाका विभिन्न स्वरुप मध्ये स्कन्द माताको पूजा आराधना गरिंदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ ।

स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र शुरु भएको पनि भन्ने गरिएको छ । नवरात्र भनेको घटस्थापनादेखिको नौ दिन अर्थात बिजया दशमीको अघिल्लो दिनसम्म हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने भनिन्छ ।

 

Facebook Comments Box

Share Icon