कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
१ कार्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिनुहुने भएकाे छ।
कोशी प्रदेश सभाको बैठक विराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बुधबार बिहान ११ बजे बस्ने भएकाे हाे । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बुधबार बस्ने बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने हुनुभएकाे हाे।
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत विद्रोह गरेर नेकपा एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसदसहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दावी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बन्नु भएको हो । एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ ।
९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । शुरुमा एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्रीमा उम्मेदवार बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उहाँलाई विश्वासको मत पाउन सहज हुने जनाइएकाे छ ।
साथै प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएका छन् ।