Share Icon

२९ असोज, जुम्ला । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ ।

सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।”

कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामूहिक पहलसम्बन्धी सिंजा खस भाषाको जन्मथलोसमेत रहेको सिंजासँग भगिनी स्थापना हुनु भनेकै गैरवको कुरा भएको दुल्लु नगर प्रमुख रिजालको भनाइ छ ।

दुल्लु नगरपालिका जनप्रतिनिधिलाई ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तोसमेत दिएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा दुई हजार बढी लाभान्वित

जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्र तीन दिने निःशुल्क मुटु रोग शिविरबाट यहाँका दुई हजार तीन सय ७३ लाभान्वित भएका छन् ।

गाउँगाउँमा मुटु रोगी बढे पनि अस्पताल पुगेर उपचार गराउने अधिकांश स्थानीयवासीको आर्थिक अवस्था निकै कमजोर रहेको छ । समयमै उपचार पाउन सकेका छैन । हिमाका नागरिकको मागअनुसार मुटु रोगसम्बन्धी विशेज्ञ डाक्टरबाट उपचार र स्वास्थ्य जाँच गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादेर शाहीले भन्नुभयो, “गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दे आएको छ । मेरो पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य हो । ” हालसम्म करिब सातवटा विभिन्न रोगको शिविर सञ्चालन भई सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

हिमाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा पालिकाले गरिदिने नीति तथा कार्यक्रम बजेटबाट पारित भइसकेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको मुटुको अवस्था थाहा पाउनको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा दुई हजार तीन सय ७३ विद्यार्थी र अन्य स्थानीयवासीको मुटुको परीक्षण गरी उपचार गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जनाको निःशुल्क शल्यक्रियाको लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएको गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो ।

बजार अनुगमन तीव्र
जुम्लामा चाडबाड नजिकिएसँगै बजार हुने कालोबजारीलाई रोक्नका लागि अनुगमनलाई तीव्र बनाइएको छ । बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

सदरमुकाम खलङ्गा बजारका खाद्यान्न पसलमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्र डिभिजन कार्यालय जुम्लाका प्रमुख डा ईश्वर सुवेदीले बताउनुभयो ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ । रु ३२ हजार दुई सय ८० मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको छ । पछिल्लो दुई दिनमा जुम्ला बजारका ६८ पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

चन्दननाथ नगरपालिकाको खलङ्गा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्री गरिएका वस्तु, जङ्कफुड, सूर्तीजन्य प्रदार्थ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत धनसिंह थापाको भनाइ छ ।

चाडपर्वको समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुनसक्ने भएकाले संयुक्त बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box

Share Icon