Share Icon

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षकासाथ प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई जानकारी दिएका छन् ।

यस निर्णयसँगै कर्णाली प्रदेशमा ३ महिने “कर्णाली विशेष अभियान” संचालन गर्ने निर्णय भएको उनको भनाइ छ । बैठकले संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए ।

बैठकपछि पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि भएको छ । जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा चयन भएका छन् भने ज्ञानेन्द्र महतो केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य चयन भएका छन् ।

भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई केन्द्रीय मानवअधिकार विभागको सदस्य, दिपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्य चयन गरिएको छ । रास्वपाले बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रण सम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने निर्णय गरेकोमा फरक मत राखेको छ ।

भारतमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Facebook Comments Box

Share Icon