Share Icon

काठमाडौं । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे) ले इन्गेजमेन्ट गरेको खबरलगत्तै यही घटनासँग जोडिएर अर्को प्रकरण बाहिरिएको छ। आयुष र जमालीले शुक्रबार मात्रै दुबईमा इंगेजमेन्ट गरिरहँदा जमालीको बुर्काबिनाको अनुहारको तस्बिर टिकटकमै सार्वजनिक भएको छ। पाकिस्तानी मुस्लिम परिवारकी उनको अनुहारबाट बुर्का हटाएको सार्वजनिक भएपछि घटनाले अर्कै मोड लिएको छ। जमालीले आफ्नो अनुहारको बुर्का तल झारेर हेरिरहेको तस्बिर बिक्कीसोनी नामको एकाउन्टबाट शुक्रबार साँझतिर पोस्ट गरिएको छ। यो एकाउन्ट कसको हो भनेर यकिन भइसकेको छैन।

उनले जमालीको अनुहारसहितको फोटोमाथि ‘ब्रेकिङ न्युज, एलिजा फेस रिबिल‘ नेपाल बुहारी एलिजाु लेखेर टिकटकमा पोस्ट गरेका छन्। यो दृश्य नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबाट बाहिरिएको हुन सक्ने आशंका गरिएको छ।जमालीले नेपाल आगमनबारे अध्यागमनमा नाम दर्ता गराउँदा बुर्का खोलेको र त्यही बेला अध्यागमन कर्मचारीले आफ्नो निजी ग्याजेटको क्यामेराबाट दृश्य कैद गरेको हुन सक्ने अनुमान गरिएको छ।

अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङले यो विषयबारे आफूलाई भर्खरै जानकारीमा आएको र आवश्यक अनुसन्धान भइरहेको बताए। उनले नेपालखबरसँग भने, ‘यो विषय संवेदनशील छ। आजकाल फोटोसप गरेर पनि यस्ता सामग्री फैलाउने गरिएको छ। अध्यागमनकै कर्मचारीबाट यस्तो गल्ती भएको हो या अरु कतैबाट हो भन्ने विषयमा म बुझ्दै छु।’

जमाली गत २८ मे २०२३ अर्थात् १४ जेठ २०८० मा नेपाल आएकी थिइन्। उनी फ्लाई दुबईको जहाजबाट बिहान ११ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको नेपालखबरलाई प्राप्त अध्यागमनको विवरणमा देखिन्छ। त्यस्तै उनी १० जुन २०२३ तदनुसार २७ जेठमा उनी फर्केको देखिन्छ।

यसरी गोपनीयता भंग हुने गरी दृश्य सार्वजनिक गर्ने टिकटक एकाउन्ट अध्यागमनकै कुनै कर्मचारी वा त्यस्ता कर्मचारीको निकटस्थ व्यक्तिको हुन सक्ने भन्दै कतिपयले सामाजिक सञ्जालमै छानबिनको माग गरेका छन्। जमाली दुबईबाट नेपाल आउँदा तीनजना अंगरक्षकसहित आएकी थिइन्। उनलाई स्वागत गर्न आयुष बुके बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। आयुष र जमालीले नेपालका विभिन्न पर्यटकीयस्थल घुमघाम पनि गरेका थिए। पछिल्लो समय भने दुवैजना दुबईमै बस्दै आएका थिए।

इन्गेजमेन्ट गरेको दृश्य उनीहरुले आआफ्ना टिकटक एकाउन्टमा पनि सार्वजनिक गरेका छन्। दृश्यमा उनीहरुले एकअर्कालाई औंठी लगाइदिएका छन्। जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेका दृश्यमा देखिन्छन्। आयुसले ‘मुझे मेरी रानी मिलेगी’ क्याप्सनसहित भिडियो पोस्ट गरेका छन् भने जमालीले ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म’ लेखेर खुसीको क्षण सार्वजनिक गरेकी छन्।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभमा जोडिएर प्रेम सम्बन्धमा रहेका थिए। १५ लाख फलोअर्स भएकी जमाली टिकटकमा बुर्काले अनुहार छोपेर मात्र लाइभमा आउने गरेकी छन्। आयुषसँग करिब ८ लाख फलोअर छन्।

Facebook Comments Box

Share Icon