‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

Share Icon

२६ असोज, प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिनुभयो । सूचना प्रविधिको क्षेत्र क्षणक्षणमा परिवर्तन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कानुन निर्माणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँगाउँमा लैजानुपर्ने बताउनुभयो । साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

सूचना प्रविधि आयार्जनको महत्वपूर्ण आधारका रुपमा स्थापित हुँदै गएको औल्याउँदै उहाँले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट गर्नुभयो ।

सूचना प्रविधिलाई समृद्धिको आधार बनाउन नेपाल सरकारले यससम्बन्धी व्यावसायिक तालिममा जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरी अल्पकालीन तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिनुभयो । सूचना प्रविधि सिमानाविहीन हुने भएकाले यसले भूपरिवेष्टित मान्यता पनि तोडेको र देशभित्रै बसेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले नेपालका लागि यसको ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको दक्ष जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशका रुपमा स्थापित गर्न सकिने छ ।”

नेपालमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील कम्पनी र कार्यरत जनशक्तिको सरकारी तवरबाट अध्ययन नभएकाले यसमा सहयोग पुग्ने गरी डिजिटल च्याम्पियन र सूचना प्रविधिसम्बन्धी प्रदर्शनी पनि आयोजना गर्न थालिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको सम्मेलनमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामणि बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी र नेपाल टेलिकमका इन्जिनियर आशिष ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.