५ वर्षमा जनताका ७५ प्रतिशत माग पूरा गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष सुनुवार
२५ असाेज, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो।
यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५ हजार १ सय २४ (घर धुरि सर्भेक्षण-२०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सीमाना कावेली खोला रहेको छ।
साेही गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।
पाथीभरा याङवरक गाउँपालिका-१ का वडा अध्यक्ष दिल कुमार सुनुवारले ५ वर्षभित्रमा निर्वाचन ताका जनताले माग गरेका ७५ प्रतिशत काम पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे बताउनुभयाे । वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। सडकलाई कालाेपत्रे गर्ने याेजना रहेकाे पनि उहाँकाे भनाइ छ।
यस वडाका कुल ८ सय ८ घर घरधुरी मध्ये ३ सय ५० मा भने स्वच्छ खानेपानी पुगेकाे उहाँले बताउनुभयाे । बाँकी ४ सय ५८ घरधुरीमा भने स्वच्छ खानेपानी पुर्याउने याेजना भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। विशेष गरेर पर्यटनकाे क्षेत्रकाे सम्भावना रहेकाे र यसलाई अघि बढाउने याेजना भइरहेकाे पनि उहाँकाे तर्क छ।
सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे उहाँले बताउनुभएकाे छ। शिक्षक दरबन्दीकाे संख्या कम रहेकाे उहाँले बताउनुभयाे । शैक्षिक गुणस्तर सुधार गर्नका लागि मासिक रूपमा विद्यार्थीई परीक्षा लिने व्यवस्था पनि गरिएकाे उहाँले जानकारी गराउनुभयाे ।
कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। गरिखाने कृषक भन्दा पनि खाेजी खाने कृषककाे संख्या बढी भएका कारण कृषि क्षेत्रमा साेचे जस्ताे उत्पादन हुन नसकेकाे उहाँकाे तर्क छ। युवा लक्षित कार्यक्रमहरू पनि भइरहेकाे उहाँले बताउनुभयाे ।
साथै कृषि क्रान्ति मार्फत राेजगारीका अवसर सिर्जना गरेर विदेश जानबाट युवालाई राेक्ने वडाकाे याेजना रहेकाे पनि उहाँले बताउनुभएकाे हाे। बजेटकाे अभावका कारण शित भण्डारण भवन बनाउन नसकिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे।
२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।
साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ७० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। बजेट अभावका कारण साेचे जस्ताे काम गर्न नसकेकाे पनि अध्यक्ष सुनुवारकाे भनाइ छ ।