नेपाल र रोमानियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर
२० असाेज, काठमाडौं । नेपाल र रोमानियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुबीच रोमानियाको राजधानी बुखारेष्टमा द्धीपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।युरोपियन महादेशमा श्रम सम्झौता हुने रोमानिया पहिलो मुलुक हो । श्रम सम्झौताले नेपालबाट रोमानिया जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
श्रममन्त्री भण्डारीले रोमानियासँग श्रम बजारको फराकिलो सम्भावनाको ढोका खुलेको बताउनुभयो ।उहाँले दुई देशबीच सम्बन्धलाई सम्झौताले अझ बढी प्रगाढ पार्ने बताउनुभयो । नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष भयो । रोमानियामा धेरै जसो होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा नेपाली श्रमिक जाने गरेका छन् ।
विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका छन् । रोमानियाको श्रम बजारमा ठूलो संख्यामा नेपाली श्रमिकको माग हुँदै आइरहेको छ ।