Share Icon

२० असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।

जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र  क्षेत्रफल  १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका-७ का वडा अध्यक्ष भाेजराज कार्कीले यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र  समृद्धि बनाउने याेजनामा लागेकाे बताउनुभएकाे छ । उहाँले वडा खबरसँग कुरा गर्दै खानेपानीका ३ वटा याेजना सम्पन्न् भएकाे र ५ वर्षभित्र वडाका सबै जनताका घरमा खानेपानी पुर्याउने दावी गर्नुभएकाे हाे ।

साथै सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे बताउँदै उहाँले माविले आधारभूत सामुदायिक विद्यालयलाई कभर गरिरहेकाे पनि बताउनुभयाे । ३ कक्षालाई वडास्तरीय परीक्षा लिने व्यवस्था गरिएकाे पनि उहाँले बताउनुभएकाे छ।  साथै उत्कृष्ट विद्यालयकाे छनाेट गरेर वडाले ५० हजार रूपैयाँ दिने व्यवस्था गरेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ ।

उहाँले वडामा सहकारी मार्फत कृषि क्रान्तिमा जाेड दिने पनि बताउनुभयाे। कृषिकाे क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि प्रपाेचल पनि बनाएकाे उहाँले बताउनुभयाे। साेही वडामा यसै वर्ष ३० हजार अकबरे खुर्सानीका विरूवा कृषकलाई राेप्न लगाएकाे पनि उहाँले जानकारी गराउनुभयाे । पर्यटन क्षेत्रकाे सम्भावना भएकाे र अघि बढाउने पहल पनि भइरहेकाे उहाँकाे भनाइ छ । जुस जाम उद्याेग, ढाँका उद्याेग र साबुन उद्याेग संचालन गरेर युवा वर्गलाई स्वदेशमै राेक्नका लागि याेजना भइरहेकाे उहाँकाे तर्क छ ।

सडक बाह्रै महिना संचालन भएकाे बताउँदै उहाँले ३ किलाेमिटर सडक साेलिङ गरिएकाे पनि बताउनुभयाे । महिनामा एक पटक वडाकाे २ ठाउँमा स्वास्थ्य शिविर राख्ने गरेकाे पनि उहाँले जानकारी गराउनुभयाे । विद्युतकाे केन्द्रीय लाइनकाे  विस्तारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । 

जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई पालिकाले ५७ लाखकाे बजेट सिलिङ गरेकाे र थप २५ लाख गरी कुल ८२ लाख बजेट दिएकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष कार्कीकाे दावी छ।

Facebook Comments Box

Share Icon