Share Icon

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरेको तीनमहिने रूपान्तरण अभियान ‘कर्मकाण्ड’मै सीमित भएको छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित सुरु भएको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ फितलो भएको माओवादी केन्द्रकै नेताले स्वीकार गरेका छन् । माओवादी केन्द्रले जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरेको रूपान्तरण अभियान प्रभावकारी हुन सकेको छैन ।

गत १६ भदौमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेको सो अभियान ७ सय ५३ वटै पालिका एवं ६ हजार ७ सय ४३ वडामा सञ्चालन गर्ने भनिएको थियो । अभियान १५ मंसिरसम्म सञ्चालन हुनेछ । सो अभियानमा पार्टीकै पदाधिकारीसहित केन्द्रीय नेतृत्वहरू नै वडासम्म पुग्न सकेका छैनन् ।

उद्घाटन भएको दुई–तीन दिन जोडतोडले लागेका शीर्ष नेताहरू अहिले वडामा नभई राजधानी काठमाडौंकेन्द्रित भएका छन् । कतिपय नेताहरू पार्टीको अभियान छोडेर विदेश यात्रामा समेत पुगेका छन् । पार्टी अध्यक्ष प्रचण्ड अहिले अमेरिका भ्रमण सकेर चीन भ्रमणमा रहेका छन् ।

यो समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon