रियल स्टेटपछि चिनियाँ ईभी निर्माता कम्पनीहरु संकटमा

Share Icon

एजेन्सी । चीनमा रियल स्टेटपछि विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुमाथि संकटको बादल मडारिन थालेको छ। चिनियाँ विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुमा संकट आउनुको मुख्य कारण ‘लिथियम’जस्ता दुर्लभ धातु हो।

चिनियाँ कम्पनीहरुले अफ्रिकाबाट लिथियम निकालिरहेका छन्। यो धातु विद्युतीय सवारीसाधनमा व्यापक प्रयोग गरिन्छ। तर, अहिले अफ्रिकी मुलुकहरुले चिनियाँ कम्पनीहरुलाई आफ्नो खानी क्षेत्रबाट बाहिर निकाल्न थालेका छन्। चिनियाँ कम्पनीहरुमाथि अफ्रिकाको स्रोत लुटेको आरोप लगाइएको छ। अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश नाइजेरियाले अगस्टमा चिनियाँ कम्पनीहरुको अवैध उत्खननमा प्रतिबन्ध लगाएको छ। चिनियाँ कम्पनीहरुले त्यहाँ टाइटेनियम निकालिरहेका थिए।

यसअघि नामिबियाले पनि चिनियाँ कम्पनीको लाइसेन्स खारेज गरेको थियो। यो कम्पनीले अवैध रुपमा लिथियम निकाल्दै आएको थियो। यसैगरी कंगोले दक्षिण किभुमा रहेका ६ चिनियाँ कम्पनीलाई धातु उत्खननमा प्रतिबन्ध लगाएको छ। चिनियाँ कम्पनीहरुमाथि कंगोले अवैध रुपमा सुन र अन्य खनिज उत्खनन गरेको आरोप लगाएको छ।

खानी उत्खननकै विषयलाई लिएर पछिल्लो समय अफ्रिकामा चिनियाँ नागरिकमाथि आक्रमणका धेरै घटना भएका छन्। हालै कंगोमा भएको आक्रमणमा दुई चिनियाँ नागरिकको मृत्यु भएको थियो।

अफ्रिकाबाट उत्खनन हुने अधिकांश धातु चीनमा जान्छ। सन् २०१९ मा सब सहारा देशहरुबाट चीनमा १० अर्ब डलरबराबरको खनिज निर्यात भएको थियो।

यूके एनजीओ राइट्स एन्ड अकाउन्टेबिलिटी इन डेभलपमेन्टका अनुसार कंगो प्रजातान्त्रिक गणतन्त्रजस्ता देशमा चिनियाँ खानी कम्पनीहरुमा ४० हजार भन्दा बढी बालबालिका काम गर्छन्। आकारको हिसाबले कंगो अफ्रिकाको दोस्रो ठूलो देश हो। यो देशमा धेरै चिनियाँ कम्पनीले काम गरिरहेका छन्।

कंगोमा १९ वटा कम्पनी कोबाल्ट उत्खननमा संलग्न छन्। जसमध्ये १५ वटा चिनियाँ कम्पनीको हिस्सा रहेको छ। चिनियाँ बैंकहरुले ती कम्पनीलाई ठूलो मात्रामा ऋण दिएका छन्। सन् २०२१ मा नियम उल्लंघन गरेको भन्दै चिनियाँ कम्पनी जियाङ जियाङलाई ९० हजार डलर जरिवाना गरिएको थियो।

सन् २०१९ मा घानामा ३३ चिनियाँ नागरिक अवैध सुन खानीको आरोपमा पक्राउ परेका थिए। घाना अफ्रिकामा सुनको दोस्रो ठूलो उत्पादक हो। यो देशमा करिब ३० हजार चिनियाँ मूलका मानिस बसोबास गर्दै आएका छन्। जो व्यापार, खानी तथा पूर्वाधार परियोजनामा संलग्न छन्।

यसैगरी सन् २०१७ मा जाम्बियामा अवैध उत्खनन् गतिविधिमा संलग्न ३१ चिनियाँ नागरिक पक्राउ परेका थिए। यो देशमा चिनियाँ मूलका करिब २२ हजार मानिस बसोबास गर्छन्। त्यहाँ २८० चिनियाँ कम्पनी कार्यरत छन्। यो देशमा चिनियाँमाथि लगातार आक्रमण भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्।

चीन विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीको बजार हो। गत वर्ष चीनमा बिक्री भएका गाडीमध्ये एक चौथाइ विद्युतीय सवारीसाधन थिए। चीन एक क्रेतामात्र होइन उत्पादकका रुपमा पनि तीव्र गतिमा बढिरहेको छ।

एक प्रतिवेदनका अनुसार विश्वमा हुने कुल विद्युतीय सवारीमा आधा हिस्सा चिनियाँ ब्रान्डको छ। चिनियाँमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न विभिन्न प्रोत्साहन दिइएको छ।

यदि आवश्यक खनिजहरु उपलब्ध नभएको खण्डमा भने चीनको ईभी उद्योगका लागि समस्या सिर्जना गर्न सक्ने विज्ञहरु बताउँछन्। यसले चीनको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने उनीहरुको ठम्याइ छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.