Share Icon

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा कम्युनिस्ट पार्टी (एमाले) पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ ।

लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो । करिब एक साताको रस्साकस्सीकाबीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए ।

प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता हुनुभयो । माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द भएको एमालेमा लुम्बिनी प्रदेश अधिवेशनबाट पुनः मतदान हुने अभ्यास शुरू भएको नेताहरूले बताएका छन् ।

लुम्बिनीको अधिवेशन सकेको एमालेले यहि असोज महिनाभरि सबै प्रदेशको अधिवेशन सक्ने कार्यातालिका बनाएको एमाले सचिव रघुवीर महासेठले जानकारी दिनुभयो । उहाँका अनुसार वागमती प्रदेशको असोज ८–९, कर्णाली १०–११, कोसी १२–१३ गण्डकी १५–१६, सुदूरपश्चिम २१–२२ र मधेस प्रदेशको २४–२५ मा अधिवेशन गर्ने तयारी छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon