राहत शिक्षक संघले जारी राख्यो आन्दोलन
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ६ बुँदे सहमति सेलाउन नपाउँदै सहमतिलाई धोका भएको भन्दै असन्तुष्ट राहत शिक्षक संघले आन्दोलन यथावत रहेको जनाएको छ ।
महासंघ र सरकारले एकलौटी ढंगबाट सहमति गरेको आरोप लगाउँदै राहत शिक्षक संघले आन्दोलनको कार्यक्रमलाई यथावत् राखेको हो ।राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले आन्दोलनरत घटकको पूर्ण सहमति बेगर भएको सहमतिलाई मान्य नहुने टिप्पणी गर्दै भन्नुभयो–‘शुक्रबार भएको ६ बुँदे सहमति विभिन्न शिक्षक र कर्मचारीको हितविपरीत छ, त्यसलाई मान्न सक्दैनाैं ।
हामीले शनिबारबाट आन्दोलन सुरू गरेका छौं, सबै निकायको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उहाँले संघको नेतृत्वमा भएको आन्दोलनलाई विद्यालय कर्मचारी, साबिकको उच्च माध्यमिक विद्यालय शिक्षक, बाल विकास शिक्षक, नेपाल शिक्षक संघ र पेन्सनबाट वञ्चित भएका शिक्षकको समर्थन रहेको बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।







