च्याम्पियन्स लिग फुटबल आजदेखि सुरू हुँदै
२ असोज, काठमाडौं । युरोपियन क्लब फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु मंगलबारबाट सुरु हुने भएका छन् ।
मंगलबार राति इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्ने भएकाे हाे । समूहको अर्को खेलमा स्विजरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लेप्जीग भिड्ने भएका छन् ।
मंगलबार नै हुने समूह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र स्कटल्याण्डको सेल्टीक तथा इटालीको लाजियो र स्पेनको एट्लेटिको मड्रिड भिड्नेछन् । समूह ‘एफ’ को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) ले जर्मनीको बोरुसिया डर्टमण्डको सामना गर्दैछ ।
त्यस्तै, समूह ‘एच’ मा स्पेनको बार्सिलोना र बेल्जीयामको रोयल एन्ट्रेप तथा युक्रेनको शख्तर डोनेट्स्क र पोर्चुगलको एफ.सी पोर्टो भिड्ने भएका छन् ।







