गोदाममा थन्किए काठका भाँडाकुँडा
४ वैशाख,वालिङ । स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा हुनुभयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।
साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबुबाजेहरुहरुबाट सिक्नुभयो । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउनुभएको छ ।
आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि उहाँले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्नुहुन्छ । आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उहाँ पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्नुहुन्छ ।
‘कुशल भाँडा उद्योग’ दर्ता गरी व्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने उहाँको दैनिकी हो । पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको उहाँ बताउनुहुुन्छ ।
“पहिला–पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्”, उहाँले भन्नुभयो, “प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन् ।”
पछिल्लो समयमा काठका भाँडाको महत्वका बारेमा थाहा नभएकाले पनि उपभोगमा कमी आएको हुनसक्ने उहाँको दाबी छ । गाउँघरमा पहिला गाईभैँसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैँसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो ।
बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगका कारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो । “आफूले उत्पादन गरेका विभिन्न काठका भाँडाहरु काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजार तथा गाउँमै माग धेरै हुँदा पु¥याउन सकिन्नथ्यो”, उहाँले भन्नुभयो, “अहिले भने उत्पादन गरेर राखिएका काठका विभिन्न भाँडाकुँडा मात्रै झन्डै पाँच लाख मूल्यको गोदाममा थन्किएको छ ।”
उद्योगमा उहाँसहित अन्य सातजनाले रोजगारीसमेत पाएका छन् । आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा रहेको यो पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उहाँ चिन्तित हुनुहुन्छ ।
युवा पुस्ताहरु रोजगारीका लागि विदेश जाने वा अन्य पेसामा लाग्ने गरेकाले पनि सीप पुस्तान्तरण हुन नसकेको उहाँले बताउनुभयो । उत्पादन भएका सामग्रीहरु बिक्री नभएपछि अहिले चाडपर्व लाग्ने मेलाहरु, महोत्सवहरुमा लगेर प्रदर्शन तथा बिक्री गर्दै आउनुभएको छ ।