सामान्य विषयमा हत्याकाे शृङ्खला बढ्दाै क्रममा
३० भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ ।
टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हाे । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । राय मृतक नविनका साथी रहेको प्रारम्भिकरुपमा खुल्न आएको प्रहरीले जनाएको छ । उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैं प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन् ।
वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन । प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ । हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउनुहुन्छ ।
घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ । यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिँदै आएको छ ।
गत वैशाख ७ गते पनि एउटा यस्तै घटना काठमाडौँमै घट्यो । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते सामान्य भाडा व्यवसाय गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो । उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन । सामान्य लुटपाटका लागि उनको हत्या भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको उक्त घटनाको ११औँ दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद बिकले हत्या गरेको पत्ता लगायो ।
सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि भाडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेका बताउनुहुन्छ । सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेका थिए । पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर खाए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेर हत्या गरेका थिए ।
अघिल्लो वर्षको पुसमा अर्को एउटा विभत्स हत्याले मानिसको मन नै अमिले बनाएको थियो । मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका व्यक्तिको हत्या । त्यसको अघिल्लो महिना मंसिर २० गते नगरपालिकाको वडा नम्बर ६ पुसलबाट ९० वर्षका डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो ।
उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नम्बर ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको थियो । गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको सफल अनुसन्धान गर्यो ।
उनको हत्यामा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न भएको खुल्यो । उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो । उनले चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्नेको प्रहरीले सार्वजनिक गरेको थियो ।
उक्त सामुदायिक वनको खोँचमा पुगेपछि नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा उनको ढुङ्गाले टाउको र गर्धनमा हानेर हत्या गरेका प्रहरी बताउँछन् । उनीसँग भएको रु ४५ हजार लिएर नरेन्द्र फरार भएका थिए ।
यी तीन घटना प्रतिनिधिमूलक हुन् । यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन् । धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । आजको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उहाँले बताउनुभयो ।
त्यसका अलावा आर्थिक समस्याले पनि घटना घटिएका कतिपय घटनाले देखाएका प्रहरीको दाबी छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भन्नुभयो, “अहिले मानिसहरु सानोसानो कुरा सहन नसक्ने अवस्थामा देखिएका छन् । मान्छेलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ्। आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ । सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्राहण गर्ने अवस्थाले पनि घटना बढ्दो छ ।” उहाँ आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएको बताउनुहुन्छ । नैतिक शिक्षा बढाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९\०८० मा पाँच सय एक जनाको हत्या भएको छ । जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका थिए । कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ । त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौंमा भएका पाइएको छ ।
त्यसको अघिल्लो वर्ष आव २०७८\०७९ मा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएको छ । त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ । काठमाडौँमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटना मध्ये उपत्यकामा मात्रै एक सय ३६ घटना भएको पाइएको छ ।