Share Icon

२५ चैत,काठमाडौँ । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो ।

उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उहाँले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालन गरेको बताउनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

प्रालीका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुमैत्री बन्न चालक र सहचालकलाई आग्रह गर्नुभयो ।

सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले अहिले ८० माइक्रोबस तथा ३१ ठूला बसमार्फत यात्रुलाई सेवा प्रदान गर्दै आएको छ ।

सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदैआएको प्रालीका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिनुभयो । सो प्रालीले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

Facebook Comments Box

Share Icon