उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

Share Icon

२० पाैष,उर्लाबारी । मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारी–५ ले मङ्गलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

उर्लाबारीको पहिचान झल्किने सामग्रीको प्रदर्शनीमा जोड दिँदै विभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रवद्र्धन गर्नुपर्नेमा छलफलमा सामेल सरोकारवाला संस्थाका प्रतिनिधिले जोड दिनुभएको छ । महोत्सव स्थानीय औद्योगिक सामग्रीको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि सञ्चालन हुने भएकाले यसलाई सफल पार्न यस क्षेत्रकै वासिन्दाको भूमिका रहने सङ्घका पूर्व अध्यक्ष प्रितम खड्गीले बताउनुभयो ।

उर्लाबारी–४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि दुई बिघा क्षेत्रफलमा सञ्चालन हुने महोत्सवमा एक सय ५० कक्ष रहने तथा महोत्सवभरिमा रु २५ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक तथा सङ्घका पूर्व अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो ।

उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न उद्योग वाणिज्य सङ्घले तयारीलाई तीव्र पारेको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । महोत्सवले यहाँका पर्यटकीय क्षेत्र र उत्पादित सामग्रीको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने भएकाले महोत्सवको प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा सङ्घका महासचिव हेमराज गुरुङले जोड दिनुभयो ।

महोत्सव आयोजना सञ्चालनसम्बधी छलफलमा उर्लाबारी नगरपालिका प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका स्थानीय प्रमुख व्यक्ति, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन थापा, सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका प्रहरी निरीक्षक मनोज निरौला, होटल तथा पेयपदार्थ व्यवसायी सङ्घका अध्यक्ष मनोहरि दाहाल र प्रितम खड्गीलगायतले उर्लाबारीको नाम र पहिचानलाई प्रबद्र्धन गर्न महोत्सवलाई भव्यताका साथ सफल पार्नुपर्ने धारणा राख्नु भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.