Share Icon

काठमाडाैं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ। गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो ।

पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुर्याएको पुष्टि भइसकेको छ। ‘पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ,’ प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने। उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।

प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९-८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् । त्यसैगरी आव २०७८-७९ मा १३ र २०७७-७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन्। उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन्।

२०७६ पुस ७ गते नेपाल प्रहरीले १२२ जना चिनियाँलाई एकैपटक पक्राउ गरेर फिर्ता पठाएको थियो। प्रहरीले साइबर अपराधमा संलग्न भएको आरोपमा ती चिनियाँलाई पक्राउ गरेर अध्यागमन ऐनअनुसार निष्कासित गरिएको थियो। त्यतिबेलै नेपालमा केही चिनियाँले ठुला अपार्टमेन्ट भाडामा लिएर अपराध धन्दा सञ्चालन गरिरहेको पुष्टि भएको थियो।

अहिले पक्राउ परेकामध्ये सात चिनियाँ सुन तस्करीमा संलग्न भएको र उनीहरूले नेपालको कानुन उल्लंघन गरेर नागरिकतासमेत लिएको फेलापरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासबाट बाहिरिएको तस्करीको ६० किलो सुन प्रकरणमा पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता रहेको खुलेको छ। सिआइबीको अनुसन्धानका क्रममा ती चिनियाँसँग नेपाली नागरिकता भेटिएको हो। उनीहरू सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी नेपाली नागरिकता भेटिएको छ। जसले गर्दा गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटवालको संयोजकत्वमा छानबिन समिति बनाउन सरकार बाध्य भयो।

६० किलो तस्करीको सुन बरामद प्रकरणमा मुछिएका चिनियाँ नागरिक लिन चुवानलाई साउन ४ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्बती मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए। उनीसँग नेपाल र बेल्जियमको नागरिकता भेटिएको छ। यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गते पक्राउ परेका गाउ हुई, झोङ सेक चिन र ताङपिङसँग पनि नेपाली नागरिकता रहेको खुलेको छ।

गत २०७९ पुस १० गते चिनियाँ नागरिकले ई–सिगरेट (भेप्स) भित्र राखेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो। ७३ प्याकेटमा रहेको सात सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गर्दा त्यसभित्र सुन छ भन्ने कसैलाई पत्तो थिएन। तर अनुसन्धानको क्रममा त्यसभित्र करिब नौ किलो सुन रहेको र त्यो चिनियाँ नागरिक ली हानसोङ र दाओजिन वाङले ल्याएको खुल्यो। यस प्रहरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा अनुसन्धानमा तानिएका छन्। राहुललाई बुधबार सिआइबीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

२०७४ भदौ १९ गते केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले क्षेत्रपाटीबाट बरामद गरेको थियो। त्यसमा पनि चिनियाँ नागरिक मुछिएका थिए। चिनियाँ नागरिकले काठमाडौंका सुन व्यापारीको लगानीमा उक्त सुन ल्याएको अनुसन्धानबाट खुलेको थियो। त्यस प्रकरणमा अदालतले चिनियाँ नागरिक याङ वइमिङ र पान वइमिङलाई जनही ४३ करोड ७० लाख रूपैयाँ जरिवानासहित ५ वर्ष कैद फैसला सुनाएको थियो। त्यो प्रकरणमा मुछिएका नेपाली व्यापारीलाई भने जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो। सफाइ पाउनेमा रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुस्थित सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खानी पसलका नन्दकुमार मर्गले थिए। मर्गले करिब ९ किलो सुन तस्करी प्रकरणमा पनि जोडिएका छन्।

त्यस्तै २०७२ पुस २३ गते काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चारजनामा अग्रवाल पनि थिए। उनी त्यतिबेला ११ लाख रूपैयाँ बोकेर अवैध सुन किन्न चीन पुगेका थिए। चीनमा उनको याङ वइमिङ र पान वइमिङसँग भेटघाट भएको स्रोतले जनाएको छ।

८८ किलो तस्करीको सुन बरामद गर्ने तत्कालीन अपराध अनुसन्धान महाशाखाका प्रमुख एवं अवकाश प्राप्त एआइजी दिवेश लोहनी केही चिनियाँले नेपाली व्यापारीको सहयोगमा नेपालमा सुन ल्याउने गरेको बताउँछन्। ‘केही चिनियाँले नेपालका केही व्यापारीसँग मिलेर सुन तस्करी गरेका छन्। भरसक उनीहरू पक्राउ पर्नबाट जोगिन्छन्। पक्राउ परिहाले पनि उनीहरू तस्करीको सञ्जान खुलाउन चाहँदैनन्,’ लोहनीले पुरानो अनुभव सुनाए। उनका अनुसार चिनियाँ आपराधिक गिरोह बहुविधाको अपराधमा सक्रिय छ। साभार नागरिक दैनिकबाट

Facebook Comments Box

Share Icon