‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

Share Icon

१५ भदौ,काठमाडौँ । वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत–सङ्गीतको प्रस्तुति रहने छ । उहाँसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहने छ ।

स्रष्टा रायमाझीले मार्मिक कथाव्यथामा आधारित सयौँ गीत आम स्रोतमाझ पस्किनुभएको छ । उहाँका ‘मलाई सम्झी रेलिमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्नेबित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नुहुने छ ।

नेपालका सबैभन्दा बढी कलाकार आबद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले जानकारी दिनुभयो । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उहाँले दाबी गर्नुभयो । स्रष्टा रायमाझीको प्रस्तुति सुन्न देशभरिबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापामगरले बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठानमा प्रवेश पासको व्यवस्था गरिएको तथा हल बाहिर प्रतिष्ठान परिसरमा पनि टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवं गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिनुभयो । विवाहमा छोरीलाई बिदाइ गर्ने बेला बुवाले दिने आशीर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको नयाँ चलचित्र ‘परदेशी–२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताउनुभयो ।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत हुनुहुन्छ । गीत–सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोकसङ्गीतका क्षेत्रमा समर्पित वरिष्ठ कलाकारका रूपमा लिइन्छ । बुवा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रूपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिनुभएका रायमाझीका दाइ लक्ष्मण रायमाझी र भाइ दुर्गा रायमाझी पनि चर्चित कलाकार हुनुहुन्छ । दाइ लक्ष्मणको केही वर्ष अगाडि निधन भइसकेको छ । भाइ दुर्गा प्रतिष्ठानको पूर्वअध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.