Share Icon

काठमाडाैं । भारत सरकारकाे अनुदानमा लमजुङमा विद्यालय भवन निर्माण भएकाे छ । लमजुङको बेशीशहर नगरपालिकाको श्री लमजुङ माविको विद्यालय तथा छात्रावासको भवन भारत सरकारको ५० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको हो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत २१.६ करोडको सहयोगमा निर्माण भएकाे उक्त विद्यालय तथा छात्रावासको भवनकाे कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय धनराज गुरुङले शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । त्यस्तै भारतीय राजदूतावास, काठमाडौंका द्वितिय सचिव प्रशान्त कुमार साेनाले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए ।

साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको जानकारी दिए । उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै उनले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पुरा भएकाे बताए ।

यस विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय छात्रवास भवनले श्री यस विद्यालयका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्याउने दूतावासले विश्वास लिएकाे छ ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा रहेका छन् जसमा ११ वटा परियोजना उदयपुरमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १२ वटा एम्बुलेन्स र १ वटा स्कुल बस उदयपुर जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Facebook Comments Box

Share Icon