भारतीय एनडीसी टोलीकाे पाँच दिने नेपाल भ्रमण

Share Icon

काठमाडाैं । भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले नेपालमा चार दिने पाँच दिने भ्रमण सम्पन्न गरेकाे छ ।

भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले भाद्र १० देखि १४ गतेसम्म नेपालको भ्रमण गरेकाे काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासले जनाएकाे छ ।

हवाई सेवाका उपप्रमुख मनीष कुमार गुप्ताको नेतृत्वमा नेपाल आएको सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षा मन्त्री पूर्ण बहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकाे हाे ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेकाे दूतावासले जनाएकाे छ । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको पनि भ्रमण गरेकाे छ ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरु मध्येको एक हो ।

भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो भ्रमणमा सहभागिता जनाएका थिए । हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् ।

सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले यस एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।

साेही क्रममा भ्रमण टोलीको नेतृत्वकर्ता हवाई सेवाका उपप्रमुख गुप्ताले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना तथा भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको बताए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.