साइबर ब्यूरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठको आभार
१२ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गर्नुभएको छ ।
आज गृह मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्यूरोको निर्माण र क्षमता विकासमा पु¥याएको सहयोगप्रति आभार दिनुभयो ।
नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा कोरियाली साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।
रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकामा धन्यवाद दिँदै उहाँले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्नसमेत आग्रह गर्नुभयो ।
काठमाडौँ र सोलबीच सिधा हवाई उडान सम्पर्क स्थापना गर्न सकेमा नेपाल आउने दक्षिण कोरियाली पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक–नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उहाँको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले नेपाल भ्रमण गर्ने कोरियाली नागरिकको सुरक्षामा निश्चिन्त हुनसमेत आग्रह गर्नुभयो ।
भेटमा राजदूत पार्कले शान्ति, नागरिक सम्बन्ध र समृद्धि नेपाल-दक्षिण कोरिया सम्बन्धका आधार भएको बताउनुभयो । ‘इपिएस’अन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको उहाँले बताउनुभयो ।
इपिएस र कोइकामार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । राजदूत पार्कले दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङलगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास दिलाउनुभयो ।
—