बेल्ट एण्ड रोड : चिनियाँ महत्वकांक्षामा विश्वास निर्माणको संकट

Share Icon

एजेन्सी । भाष्यले वरिपरिका राजनीतिक वास्तविकतालाई बुझ्न र व्याख्या गर्न मान्छेलाई मद्दत गर्दछन्। भाष्यले मान्छेलाई कुनै कार्य गर्नु पर्ने कारण दिन्छ । कार्यको बैद्यता सिर्जना गर्दछ । सँगसँगै ती शासकीय औजार पनि बन्दछन् ।

चिनियाँ कुटनीतिमा आज चीन–उन्मुख भाष्यको माग भइरहेको छ । आधुनिक विश्वमा महाशक्ति चीनको सपना पूरा गर्न उत्तिकै बलियो भाष्य चाहिन्छ । चीनले सामना गरिरहेको यो समस्या र मनोवृत्तिलाई बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) मार्फत् चित्रण गर्न सकिन्छ।

सन् २०१३ मा राष्ट्रपति सी चिन फिङले सुरु गरेको बिआरआई चीनको ‘बाहिर जाने’ र फैलिने वैश्विक रणनीतिको ‘निर्माण ब्लक’ हो । बिआरआईले चीन, मध्यएशिया र युरोपलाई जमिनबाट जोड्ने सिल्क रोड इकोनमिक बेल्ट (एसआरइबी) र चीन, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोपलाई सामुद्रिक मार्गबाट जोड्ने २१ औं शताब्दिको सामुद्रिक सिल्क रोड इनिसिएटिभ्स (एमएसआरआई) लाई समावेश गर्दछ ।

बिआरआई सुरु भएको ३ वर्षभित्रै चीनको बाह्य प्रत्यक्ष लगानी १६४ देश र क्षेत्रका ७,९५९ विदेशी उद्यमहरुमा १७६.११ विलियन डलर थियो । सन् २०१६ सम्म यसको वार्षिक बृद्धिदर ४४.१ प्रतिशत थियो । चीनले सन् २०१७ मा ६५ देशमा १४.४ विलियन डलरको बाह्य प्रत्यक्ष लगानी गर्‍यो ।

बिआरआईले चीनलाई द्विपक्षीय पूर्वाधार, लगानी, व्यापार र सहयोगमार्फत् द्रूतरुपमा उदयमान एशियाली बजारसँग संलग्न हुने र एशियाली देशलाई चीनको विशाल घरेलु बजारको फाइदा उठाउने अनुमति दिन्छ ।

चीनले बिआरआई देशहरुमा ‘मेड इन चाइना’ वस्तु निर्यात गर्ने अवसर पाएको छ । घरेलु उत्पादन क्षमताको वृद्धि र उद्योगहरुको स्तरोन्नतिमार्फत् आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न सकेको छ । सँगसँगै चीनले आर्थिक मात्र हैन, सहभागी देशहरूमा कुटनीतिक तथा कार्यनीतिक सम्बन्ध विस्तार गर्न समेत सकेको छ । चीन-पाकिस्तान आर्थिक करिडोर यसको उदाहरण हो ।

तर, बिआरआई परियोजनाहरूको नियत र सम्भावित प्रभावको बारेमा सम्बन्धित देश र बाँकी विश्वमा आलोचना छन् । फाइनान्ससियल टाइम्सको एक रिपोर्ट अनुसार २३४ बिआरआई परियोजना न्यून सामाजिक स्वीकार्यताका कारण पछि परेका छन्। तिनलाई सुरु गर्न ढिलो भएको छ वा विभिन्न अवरोधका कारण समयमै पुरा हुन सकेका छैनन् ।

उदाहरणको लागि थाई जनताको विरोध प्रदर्शनका कारण थाइलैण्ड रेलवे परियोजना बारम्बार रोक्न परेको छ । विकासशील देशमा ऋणको बोझ बढाएको र कतिपय अवस्थामा ‘ऋणको पासो’ सिर्जना गरेको भन्दै बिआरआईको आलोचना पनि भइरहेको छ । चीनले भने बिआरआईलाई विश्वव्यापी जनहितको बिषय मान्दछ । बिआरआई क्षेत्रमा धेरै ठूलो विकास हुने विश्वास गर्दछ । सत्य के हो त ? चीन र बाँकी विश्वले बिआरआईलाई बुझ्ने तरिकामा रहेको भिन्नता छानबिन गर्न लायक छ।

एकाथरि विशेषज्ञ भन्छन् कि बिआरआई परियोजनाहरुले विश्वमै परिवर्तन ल्याउन खोजेको छ । अर्काथरि ठान्दछन् कि यो एक भ्रमपूर्ण चिनियाँ भाष्य हो, जसको परिणाम परिकल्पना गरिए अनुरुपको छैन ।

राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको भाषणमा बिआरआईलाई प्राचीन सिल्क रोडको ‘केन्द्रभागतिर सर्ने चाल’ का रुपमा व्याख्या गरेका थिए । यसबाट प्रष्ट हुन्छ कि बिआरआई चिनियाँ महत्वाकांक्षाको आधुनिक रेशम मार्ग हो । यो तर्कले धेरै आलोचकलाई आकर्षित गरेको थियो । चिनियाँ नियतिप्रति आशंका गर्नेहरुको दायरा झनै फराकिलो भएको थियो ।

प्राचीन ‘सिल्क रोड’ को निर्माण करिब इशापूर्व १३९–११४ बीचमा भएको थियो । यसमार्फत् हान वंशका झान कियानले पहिलोपटक चीनलाई मध्य एशियासँग जोडेका थिए । आज बिआरआईका रुपमा अर्को रेशम मार्ग आएको छ । यी दुवै चीनका पहलकदमी हुन् । दुुवैमा चीनको क्षेत्रीय व्यवस्था परिवर्तनको चाहना थियो । साथै, सिल्क रोड र बिआरआई दुवैले फरक भाष्यको पृष्ठभूमिबाट उत्पन्न समस्याको सामना गर्न पर्‍यो ।

अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास एक महत्वपूर्ण अवधारणा हो । विशेषतः कुनै दुई देशबीच द्वन्द्व समाधान र शान्ति निर्माण प्रक्रियाका सन्दर्भमा । यदाकदा यो विवेकपूर्ण निर्णय निर्माण प्रक्रियाको प्राथमिकता बन्दछ । विश्वासको अर्थ दुई राज्यहरु बीच एकअर्काले के गर्छन् वा गर्दैनन् भनेर जोखिम लिने तत्परता हो ।

विश्वास निर्माणमा पनि फरक भाष्यका जटिलता क्रियाशील हुन्छन् । तर, राज्यहरु बीच विश्वास निर्माण असम्भव कार्य भने हैन । विश्वास निर्माणमा ससाना संकेत र सहकार्यले नै ठूलो अर्थ राख्दछ।

बिआरआई चीनको तर्फबाट निक्कै ठूला संकेतहरुको श्रृंखला हो । चिनियाँ विदेश नीतिमा यसले धेरै ठूलो अर्थ राख्दछ । यति बलियो संकेतका बाबजुद छिमेकी तथा संलग्न देशहरुमा यसप्रतिको सामाजिक स्वीकार्यता न्यून छ । यसले विश्वास निर्माण प्रक्रियाको असफलतालाई देखाउँछ । यदि राज्यहरुले अरु राज्यसँग चमक (खुल्लापन, इमान्दारिता र पारदर्शिता) का साथ व्यवहार गरे र मूल्यमान्यताका मापदण्ड अनुरुप व्यवहारलाई नियमन गरे सम्वन्ध पनि बलियो हुन्छ ।

प्राचीन चीनमा चमक, भद्र र सद्गुण पुरुषहरुको महान गुण थियो । चमक सबै सदगुणीहरुको नैतिक आवश्यकता हो । एक कन्फुसियसवादी प्राज्ञको भनाइ छ- ‘चमकको अर्थ उज्यालो र उज्यालोले स्पर्श गर्न सक्ने सबै चिज हुन्। एक भद्र र पौरखी शासकको नैतिक आवश्यकता हो कि उसको नियत सफा हुनु पर्दछ र शासनशैली पारदर्शी ।’

यदि शासकले आफ्नो शासनको नियमलाई प्रष्ट पार्न सक्दछ भने ठूला र शक्तिशाली राज्य पनि उसका दुश्मन हुन जरुरी हुँदैन । शासकीय चमकको अर्थ षडयन्त्र र धुर्त्यांइ मुक्त शासन हो।

आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा यसलाई इमान्दारिता भन्न सकिन्छ । रणनीतिक सहकार्यका लागि पारस्पारिक हितको अस्तित्व निर्धारण हुनु पर्दछ । अर्को कुरा–नीतिनिर्माताहरु विवेकसम्मत बन्न पर्दछ । धोका र शोषणको जोखिम निक्कै कम छ भने समकक्षीले एकअर्कालाई विश्वास गर्दछन् ।

अवसर लागत एक यस्तो अर्थशास्त्रीय अवधारणा हो, जसले स्रोतको सीमितता र छनोट बीचको सम्बन्ध व्यक्त गर्दछ । जब स्रोतहरु आवश्यकभन्दा कम हुन्छन, नीतिनिर्माताहरु त्यसबाट लाभदायक परिणाम आउने गरि निर्णय लिन बाध्य हुन्छन् । अवसर लागत भविष्यको लाभ, समय र श्रमको सम्बन्ध हो । बिआरआईको बारेमा संलग्न देशहरुले निर्णय लिँदा अवश्य अवसर लागतको दृष्टिकोणबाट हेर्ने छन् ।

रेशम मार्ग खासमा कुनै सडकको नाम थिएन । चीन, मध्यएशिया र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने रुट सम्बन्धि एक अवधारणा थियो । त्यतिखेर यसलाई ‘सिल्क रोड’ पनि भनिदैनथ्यो । २ हजार वर्षभन्दा अघि नै यो बनेको भए पनि रेशम मार्ग (सिल्क रोड) नाम भने सन् १८७७ मा जर्मन खोजकर्ता ब्यारोन फर्दिनान वोन रिचथोपेनले पहिलोपटक प्रयोग गरेका थिए ।

त्यतिखेर चीन र मध्यएशिया बीचको सम्बन्धको आर्थिक, सांस्कृतिक कारण के थियो भनेर धेरैले अध्ययन गरेका छन् । तर, त्यो सम्बन्धको मौलिक अभिप्रेरणा भने रणनीतिक र सुरक्षा थियो । मध्य एशियाका सियोन्गु कविला संघबाट हान वंशले सुरक्षा चुनौतीको सामना गर्नु पर्दथ्यो ।

हान वंशले त्यसविरुद्ध मध्य एशियाका अन्य देश विशेषतः युझीसँग सुरक्षा साझेदारी गरेका थिए । त्यही सन्दर्भमा रेशम मार्गको अवधारणा अघि आयो । अर्थात् रेशम मार्ग एक सामान्य रुट अवधारणा मात्र थिएन, मध्यएशियाको क्षेत्रीय व्यवस्थालाई परिवर्तन गर्ने एक परियोजना पनि थियो ।

राष्ट्रपति सीले सन् २०१३ को सेप्टेम्बर ७ मा पहिलोपटक काजकिस्तानको नाजरबायेभ विश्व विश्वविद्यालयमा ट्रान्सयुरेसियन क्षेत्रभरि आर्थिक बेल्ट स्थापित गर्ने प्रस्ताव गरेका थिए । यसलाई ‘नयाँ रेशम मार्ग’ उपनाम दिइएको थियो । यसले यस क्षेत्रका ३ अर्ब जनतालाई प्रभावित गर्ने अनुमानका साथै उर्जा र खानीस्रोतका क्षेत्रमा प्रविधि, लगानी, वित्त र सेवाको सहकार्य गर्ने प्रस्ताव थियो ।

यो सन्देशलाई सन् २०१३ को अक्टोबर ३ को इन्डोनेशिया भाषणमा पनि जारी राखियो । त्यो एमएसआरआई परियोजनाको उद्घाटन कार्यक्रम थियो । परियोजनाको केन्द्रमा चीन र आसियान छिमेकीबीच विकास र समृद्धिको साझेदारी थियो । त्यो भाषणपछि बिआरआई परियोजनाले विश्वको ध्यान आकर्षित गर्‍यो ।

सन् २०१९ को अक्टोबर १८ मा राष्ट्रपति सीले चिनियाँ जनकांग्रेसको १९ औं बैठकमा वैदेशिक रणनीतिबारे साढे तीन घन्टा लामो भाषण गरे । यो भाषणले सिको शासनकाल उनका अग्रजको भन्दा भिन्नै प्रकृतिको हुने र चीन एक विश्व शक्तिका रुपमा अघि आउने प्रष्ट गर्दथ्यो।

बिआरआई चीनलाई खुला गर्दै जाने नीतिकै निरन्तरता हो । यसले चीनलाई विश्व व्यवस्थाको केन्द्रमा ल्याउने रणनीति सुनिश्चित गर्दछ । यसको उद्देश्य विश्व अर्थराजनीतिलाई प्रभाव पार्नु मात्र हैन, बरु विश्व अर्थराजनीतिलाई नै बदल्नु हो । यस रणनीतिले विश्व व्यवस्थाको प्राधिकारलाई बदल्न नयाँ ढंगले साझेदार पहिचान र सहकार्य गर्ने महत्वाकांक्षा राख्दछ।

प्राचीन रेशम मार्ग तत्कालिन राज्यहरुबीच शान्तिको प्रतीक मार्ग थियो, बिआरआईले पनि त्यो कुरालाई अन्तर्निहित गर्दछ भन्ने चीनको आशा छ । चीनको औपचारिक विदेश नीतिमा आज पनि शान्तिपूर्ण विकास, सम्बाद र सम्झौता, परस्पर हित, विश्वास र सहमतिजस्ता तत्व छन् ।

एशियाली विकास बैंकको अनुमानअनुसार एशिया–प्रशान्त क्षेत्रमा विकास पूर्वाधारका लागि सन् २०३० सम्ममा २६ ट्रिलियन डलरको आवश्यकता पर्दछ । बिआरआईमा चीनको ठूलो लगानीले यस क्षेत्रका देशको पूर्वाधार विकासमा दीगो योगदान गर्न सक्ने छ । बिआरआईले एशिया-प्रशान्त क्षेत्रीय विकास लगानीको हिस्सालाई पूरण गर्दछ ।

१९ औं पार्टी महाधिवेशनमा राष्ट्रपति सीले भनेका थिए- ‘यो चीन केन्द्रतिर सर्ने र मानव जातिका लागि योगदान गर्ने युग हुनेछ ।’ सन् २०१८ सम्म चीनले बिआरआई साझेदार देशहरुमा ९० बिलियन डलर बराबरको प्रत्यक्ष लगानी गरिसकेको छ । यसभित्र जलवायू परिवर्तन, गरिबी निवारण र सामुद्रिक मार्ग सम्बन्धि लगानी पनि छन् ।

चीनको बढ्दो प्रतिरक्षा बजेट र रणनीति यससँग जोडिएर आउँछ । बिआरआई चीनको अर्थराजनीति मात्र नभएर सुरक्षा र सैन्य रणनीतिक योजनाको पनि अंग हो ।

१५ वर्ष अघिसम्म चीनको उदयलाई बाँकी विश्वसँग आपसी हितमा एक शान्तिपूर्ण उदयका रुपमा हेरिन्थ्यो । आज चीनको उदयले अन्तर्राष्ट्रिय शक्ति सम्बन्धमा उल्लेखनीय महत्व राख्दछ । चीनको विकास अपरिहार्य वैचारिक प्रतिस्पर्धाको फरक बाटोबाट भएको हुँदा भोलीको शक्तिशाली चीनसँग आपसी हितले कसरी मेल खाला ? यो प्रश्न छ नै । साथै, बिआरआई क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका क्रियाकलाप सँगसँगै गइरहेका छन् भन्ने यथार्थलाई पनि बाँकी विश्वले बेवास्ता गर्न सक्दैन ।

चीनले जतिसुकै रकम ठूला पूर्वाधार विकासमा लगानी गरे पनि साझेदार देश किन अझै विश्वस्त छैनन् ? यसको कारण हो कि विश्व समुदाय चीनको क्षमताबारे सावधान र नियतबारे अस्पष्ट छ । बिआरआईमार्फत् गरेको ठूलो लगानीवापत चीनले के फाइदा लिन हो ? व्यापक आशंका छ ।

तसर्थ चिनियाँ महत्वाकांक्षाको वैधता र बिआरआईको सफलता उसले बाँकी विश्वसँग निर्माण गर्ने विश्वासमा भर पर्ने छ । (ब्रिजिङ टु वर्ल्डसबाट संक्षेपीकृत अनुवाद)

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.