‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय दूतावासद्वारा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना

Share Icon

काठमाडौँ । भारतीय राजदूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावसस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

सोही कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए।

कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएकाे थियाे । सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ।

यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताउनुभएको थियो । कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका थिए । तत्पश्चात चार बौद्ध सूत्रको प्रार्थना गरिएकाे दूतावासले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरुको प्रदर्शनी पनि राखिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.