आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

Share Icon

१२ पाैष,चौतारा ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ ।

नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उहाँले बताउनुभयो । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन सकेको उहाँले बताउनुभयो ।

नगरपालिकाले २० जना अपाङ्गता भएका व्यक्तिलाई उक्त तालिम दिएको थियो । “तालिमपछि सुरुवात गरेको कामबाट आर्थिक रुपमा आत्मनिर्भर बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । यसरी बनाएको धुप उहाँले प्रतिमुठा रु ६ का दरले र साबुन प्रतिकेजी रु ७० सम्ममा बिक्रीका दरले बिक्री गरिरहेको उहाँले बताउनुभयो

घलेजस्तै गङ्गादेवी श्रेष्ठले पनि तालिमले आफूहरुलाई आत्मनिर्भर हुन प्रेरित गरेको बताउनुभयो । “यस्ता सीपले हामी अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने र यस्ता कार्यक्रम दीर्घकालीन योजनाका साथ सञ्चालन भएमा अपाङ्गता भएका व्यक्ति आर्थिक रुपलेमाथि उठ्न टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । आफूहरुले दैनिक दैनिक १० देखि १२ किलोसम्म साबुन बनाउन सक्ने उहाँको भनाइ छ ।

दैनिकजसो पाँच सय भन्दा धेरै बत्ती कातेर जीवन चलाउँदै आउनुभएको चौतारा बजारको हरिमाया पुरी पनि आफूलाई केही गर्न सक्छु भन्ने भावना जागेर आएको बताउनुभयो । अपाङ्गता भएका हामी जस्तालाई केही गर्न सक्दैनौँ भन्नेका लागि आफूहरुले जवाफ दिन सकेको उहाँको भनाइ छ ।

सबै एकजुट भएर अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम गर्न जागरुक गरे आत्मनिर्भर बन्नसक्ने चौतारा सागाँचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको भनाइ छ ।

“अपाङ्गता भएका व्यक्तिले सिकेको सीपले आत्मनिर्भर बनाउने कुरामा आफैंँमा राम्रो हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता व्यक्तिलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।” लक्षित वर्गका नाममा आउने बजेटलाई अपाङ्गताको क्षेत्रमा विशेष जोड दिने उपप्रमुख सीता थापाले बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.