Share Icon

२३ जेठ,काठमाडाैं । भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेतीलाई बाँदरले नोक्सान गर्छ की भनेर पर्वतको कुश्मा नगरपालिका–९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन् ।

मकै जोगाउन यहाँका स्थानीयहरूले नै पालैपालो बाँदर कुर्ने गर्छन् । खेतमा लगाइएको मकै नपाक्दासम्म हरेक दिन फरकफरक व्यक्तिले खेत कुर्नुपर्ने हुन्छ । त्यसका लागि खेतमा नै सानो छाप्रो बनाइएको छ ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साँध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । बस्ती नजिकै भएका कारण छोटो समयमा नै गाउँलेहरू जम्मा भएर बाँदर धपाउने गछन् ।

यसका लागि १५ जना व्यक्ति छानिएका छन् । बाँदर धपाउन छनोट हुनेमध्येका एकजना कुश्मा–९ का वडाध्यक्ष पनि हुन् । वडाध्यक्ष रामशर्मा लामिछानेको बाँदर हेर्ने पालो जेठको २९ गते परेको छ । त्यसको १५ दिनपछि असार १३ गते उनको अर्को पालो छ ।

१५/१५ दिनको अन्तरालमा हरेकको पालो दोहोरिने र यो क्रम मकै पाकेर नउतार्दासम्म जारी रहने वडाध्यक्ष लामिछानेले बताए ।

“मकै नपाक्दासम्म र रोपाईं सुरु नहुँदासम्म खेती त जोगाउन पर्‍यो, त्यसकै लागि हरेक दिन एकजना व्यक्तिलाई बाँदर कुर्नको लागि खेतमा नै पठाइने गरिएको छ,” उनले भने, “असार १३ गते मेरो पालो हो, त्यो दिन म खेतमा जान्छु, रुटिनअनुसार सबै पालैपालो जाने गरेका छौँ ।”

बसाइसराईँले रित्तिएका पर्वतका ग्रामीण भेगमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरूमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछाने सुनाउँछन् । ग्रामीण क्षेत्रमा सबैको साझा समस्या नै बाँदरबाट कसरी खेती जोगाउने भन्ने छ ।

अघिल्ला वर्षहरूमा पनि यसैगरी बाँदर धपाइएको उनले बताए । अहिले भने वडाले खाजाको व्यवस्था गरिदिने उनले बताए ।

“आफ्नो पालामा लौरो लिएर खेतमा जाने, बाँदरको हुल आयो भने उसले संकेत दिन्छ (फोनमार्फत वा चिच्याएर) त्यसपछि गाउँलेहरू सबै जान्छन् ।” उनले भने ।

Facebook Comments Box

Share Icon