Share Icon

२२ वैशाख, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन ९कक्षा घटुवा० गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक ९भदौदेखि चैतसम्म० स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो ।

“विद्यालयले विद्यार्थी सङ्ख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो”, नगरप्रमुख गुरुङले भन्नुभयो, “विद्यार्थी कम भएका विद्यालयले अनुगमनमा पुगेका कार्यदलका पदाधिकारीलाई घरमा चाडपर्व परेको, अभिभावक घरायसी काममा व्यस्त भएको लगायतका बहाना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी सङ्ख्याअनुसार न्यून पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको हो ।”

कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश बालकक्षादेखि कक्षा १ सम्म पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ ।

बेलकोटगढी–१२ मा रहेको चण्डीदेवी माविमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एक सय १६ विद्यार्थी देखाए पनि नियमित उपस्थिति र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले उक्त विद्यालयलाई बालविकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ । सो विद्यालयसहित विभिन्न १९ विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगरउपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु¥याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनः विचार गरिनेछ । “विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन्”, उपप्रमुख दाहालले भन्नुभयो ।

बेलकोटगढी नगरपालिकाभित्र हाल १९ माध्यमिकसहित ५४ सामुदायिक विद्यालय सञ्चालित छन् । पालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको बताएका छन् ।

Facebook Comments Box

Share Icon