अमेरिकासँग पैसा र हतियार माग्दै पाकिस्तान

Share Icon

इस्लामाबाद । आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले अमेरिकालाई सैन्य वित्तपोषण र हतियार बिक्री पुनःस्थापना गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो।

अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वासिङटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानका लागि यसअघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्त पोषण र विदेशी सैन्य सामग्री विक्री पुनःस्थापित गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ। अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ। दक्षिण र मध्य एशियाका लागि अमेरिकी प्रमुख उप-सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्र सुधार्न मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गरेको डनले उल्लेख गरेको छ।

​पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधार सहज नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबल बनाउन लागि यी कदम चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइ छ। यसैबीच वासिङटनले पाकिस्तानलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ।

भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ। विल्सन सेन्टर वासिङटनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमको पृष्ठभूमिमा अमेरिका-पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो।

राजदूत खानले पाकिस्तानले रूसी तेलका लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको स्पष्ट पारेका छन्। उक्त अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो।

अफगानिस्तानमा बढेको आतङ्कवादप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उनले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारणा राखेका छन्।

आतङ्कवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ। यो नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उनको टिप्पणी छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.