Share Icon

१० बैशाख ,काठमाडाैं ।     कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।

‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन्।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लाग्छ।

त्यसदिन व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुगेका थिए। त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

मेलामा पुगेका वडाध्यक्ष अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उनका साथी मनोज बुढाथोकीले उनलाई मोटरसाइकलमा राखेर घर ल्याउन लागेका थिए।

पुष्पलाल पार्कस्थित ओरालोमा पुग्दा मोटरसाइकलको ब्रेक नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए।

स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो।

अहिले शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लग्ने तयारी गरिरहेको छ।

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।

Facebook Comments Box

Share Icon