किसानलाई बाली जोगाउने चिन्ता

Share Icon

२६ चैत,बलेवा । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् ।

गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भन्नुभयो, “यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केही सहज होला तर बाँदर नियन्त्रणमा काम गर्दिनुप¥यो ।”

पहिलेभन्दा यो पटक बाँदरको सङ्ख्या बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा बाँदरले दुःख दिने गरेको बताउनुभयो । उहाँले बाँदरका कारण घरका खाद्यान्न जोगाउन मुस्किल भएको बताउनुभयो ।

मकै रोप्ने बेला बीउका लागि भौँतारिने सुरेन्द्र केसीलाई यो वर्ष त्यसको चिन्ता भएन । गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो वर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बीउ दियो ।

बीउ पाएपछि खोज्ने झण्झट त ट¥र्यो तर बाली जोगाउने चुनौतीले उहाँलाई सताउन थालेको छ । बीउको पोका हातमा नराख्दै उहाँले बाँदर सम्झिनुभयो ।

पोहोर जस्तै यसपटक बाँदरले सताए बाली कसरी जोगाउने ? गाउँपालिकाले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत वडामै पुगेर बीउ बाँडिरहेको छ । बीउ पाएका किसानमा भने उत्साह र निराशा दुवै छ ।

“पहिला मकैको बीउका लागि धेरै ठाउँमा खोजी गर्नुपथ्र्यो”, केसीले भन्नुभयो, “बागलुङ, पोखरा तथा बुटवलबाट व्यापारीलाई बीउ मगाउँदा लगाउनै ढिलो हुन्थ्यो । अहिले बीउ घरै आयो तर मकै कसरी जोगाउने भन्ने चिन्ता छ ।”

यस वर्ष बडिगाडले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्दैछ । वडा नं ४, ५, ६, ९ र १० मा मकै बाली प्रवद्र्धनका लागि २० लाख २० हजार बजेट छ ।

मकैबाली प्रवद्र्धन कार्यक्रम लागू भएका वडामा कृषक समूह गठन गरेर मकैको बीउ वितरण भइरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताउनुभयो । वडामा मकैको बीउसँगै कोसे तरकारी बालीको बीउसमेत निःशुल्क वितरण गरिएको छ ।

बडिगाड–१ दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको मकैको बीउ किसानलाई वितरण गरिएको वलीले बताउनुभयो । “मकैको बीउ ९० रुपैयाँमा खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो ।

बीउ पाएका सबै किसानले बाँदरका कारण बाली जोगाउन सकस हुने गरेको सुनाएका थिए । गाउँपालिका–१, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बीउ वितरण गरिएको हो ।

मध्य पहाडमा उपयुक्त हुने मनकामना–३ मकैको बीउ सेतो जातको हुन्छ । खान निकै स्वादिष्ट हुने भएपछि किसानको रोजाइमा यो बीउ परेको वलीले बताउनुभयो ।

बीउ उत्पादनको तयारी

गाउँपालिकाको दगातुन्डाँडा कृषि समूहले अहिलेसम्म मनकामना–३ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ । यो वर्षदेखि देउकी जातको बीउ पनि उत्पादन गर्नेगरी तयारी थालेको छ ।

समूहका अध्यक्ष भीमसेन वनका अनुसार यो वर्ष समूहले १६ क्विन्टल मकैको बीउ उत्पादन गरेको थियो । बाह्र क्विन्टल बिक्री भएको छ भने चार क्विन्टल स्थानीयले बीउ लगाउन राखेका छन् ।

समूहले यस पटक पाँच क्विन्टल बडिगाड–१० मा ८० किलो, बडिगाड–९ ढोरपाटन–२ मा चार क्विन्टल र निसीखोलामा दुईमा पनि वितरण गरिएको वनले बताउनुभयो । देउती जातको मकै उत्पादनका लागि भने अझै क्लस्टरको टुङ्गो नलागेको उहाँले बताउनुभयो ।

“हामीले सात हेक्टर क्षेत्रफलमा अहिले मनकामनाको बीउ लगाएका हौँ, १२ क्विन्टल मकैको बीउ बिक्रीको लाइसेन्स छ”, वनले भन्नुभयोे, “यो पटक मनकामना–३ को एक सय २० केजी र देउती जातको ८० केजी मूल बीउ खरिद गरिसकेका छौँ । देउतीको बीउ लगाउन पहल गरेका हौँ, केही समस्याले क्लस्टर मिलाउन सकेका छैनाँै ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.