सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

Share Icon

१० जेठ, चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।

सुँड काटिएको एक महिनापछि पानी आफँै खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उहाँले भन्नुभयो, “हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु ।”

हात्तीले अहिले पानीले आफैँ नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफँै छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो । उहाँले भन्नुभयो, “हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।”

हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् । हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ । सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.