स्वास्थ्य मन्त्री बन्ने तयारीमा रहेकी डा. ताेसिमा कार्कीलाई कसले राेक्न खाेज्दै छ ?

१६ पाैष, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञताका आधारमा ‘जान्नेलाई छान्ने’ मुख्य नीति अपनाएको छ। तर, सोही पार्टीका महामन्त्री मुकुल ढकालले भने ‘रविपथ’को आडमा आफ्नो गुरुमालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कसरतमा लागेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको सात महिना नबित्दै प्रवक्तासमेत रहेका ढकालले अनेकौँ प्रश्नको सामना गर्दैआएका छन्। उनी पार्टीभित्र सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै विवादसमेत बनेका छन्।
ललितपुर– ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीलाई कुनातिर थन्काएर समानुपातिक सांसद डा. चन्दा कार्कीलाई मन्त्री बनाउने दौडधुपमा लागेको महामन्त्री ढकालमाथि आरोप छ।
पार्टीलाई बदनाम र सभापति लामिछानेलाई विवाद ल्याउन महामन्त्री ढकालको ठूलो भूमिका रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले बताएका छन्। ‘रवि दाइले मुकुलजीलाई ठूलो जिम्मेवारी सुम्पिनुभएको छ। तर, उहाँ जान्नेलाई छान्ने होइन गुरुआमालाई छान्ने अभियानमा लाग्नुभएको छ,’ ती सांसदले भने।
मन्त्री लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई विज्ञतका आधारमा मन्त्रालयको जिम्मेवारी दिइने बताएका छन्। तर, उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा कसलाई रोज्लान्– राजनीतिक वृत्तमा चासो छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा उपप्रधानसहित गृहमन्त्री पाइसकेको रास्वपाले उपसभामुख, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’, ‘कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय’ दाबी गर्दैआएको छ।
स्रोतका अनुसार रास्वपालाई अब उपसभामुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहित अन्य तीनमन्त्री र एक राज्यमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार छन्।
रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने चर्चासँगै डा. तोसिमा कार्की, डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की त्यो पदमा आकांक्षी छन्। तोसिमा निर्वाचित सांसद हुन् भने अन्य दुई समानुपातिक सांसद हुन्। तोसिमालाई थन्काउँदै मन्त्री बन्ने चर्चामा रहेकी डा. चन्दा भने महामन्त्री ढकालकी गुरुमा हुन्।
डा. तोसिमा कार्की चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनदेखि चर्चामा आएकी हुन् । उनले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पनि पपुलर मत ल्याएर चुनाव जितेकी थिइन् ।
४ मंसिरमा भएको प्रतिनिधिसभामा डा. कार्कीले हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री तथा माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुसाललाई पराजित गरेर ललितपुर ३ नं. क्षेत्रबाट विजयी भएकी हुन् ।
हेविवेट उम्मेदवारलाई पराजित गरेका कारण पनि सभापति लामिछानेलाई डा. कार्कीलाई मन्त्री बनाउनै पर्ने दबाब छ । रवि स्वयंमले युवाका पक्षमा बलियो मत प्रकट गर्दै आएकाले पनि डा. कार्कीको स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको हो ।