Share Icon

२३ चैत,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्नुहुँदै उहाँले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

मन्त्री किराँतीले भन्नुभयो, “स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ ।”

शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कलासंस्कृति र धार्मिक क्षेत्रलाई बचाउनुपर्छ भन्नुभयो । कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताउनुभयो ।

विश्वशान्ति झ्याङछुप छ्योर्तेनका अध्यक्ष बासु तामाङले बागमती प्रदेशबाट रू २५ लाख बजेट विनियोजना भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न गर्न करिब रू पाँच करोड लाग्ने अनुमान गरिएको छ । चैत्य निर्माण उपभोक्ता समितिद्वारा निर्माण गर्न लागेको सो झ्याङछुप छ्योर्तेन ७० फिट अग्लो हुने जनाइएको छ ।

Facebook Comments Box

Share Icon