Share Icon

१६ चैत,खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ ।

विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको रु ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको रु ४२ लाख बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित रु ५६ लाखको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ ।

धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गर्नुभएको थियो । धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताउनुभयो ।

नियमित भजनकीर्तनका साथै भगवतीको दर्शन र स्थानीय ऐतिहासिक तथा पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामका लागि धर्मशाला निर्माण सुरु गरिएको हो ।

मझुवागढीमा बात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । पानीका लागि सहरी विकास मन्त्रालयबाट २०७२ सालमा विनियोजित रु एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पूरा हुने उक्त समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको किरातको ऐतिहासिकस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर फूलैफूलको पहाड बनाउने अभियान थालिएको हो ।

उक्त अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, सल्ला, जाइ, कपुर, पुवाले मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत ५०० बिरुवा रोपिएको थियो ।

मझुवागढीलाई फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार पारेर साझा सपना पूरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई फूलैफूलको पहाड बनाउने योजना छ ।

मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी योजना बनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीमा विसं १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ ।

त्यस्तै गढीकोबीच भागमा मौली छ । रणवीर राजाका रैतीहरुले दसँै मान्न ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भनिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ । मझुवागढीको केही तल भगवती मन्दिर छ । उक्त मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका(तिज)लगायत चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

Facebook Comments Box

Share Icon