१० चैत,बागमती । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो ।
नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।
प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
उहाँले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गर्नुभयो ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान बैठक हाल जारी छ ।
Related posts:

राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस

एमाले सुदूरपश्चिम प्रदेशमा सबै पदाधिकारी सर्वसम्मत चयन

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

