भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

Share Icon

१० चैत,खैरेनीटार । प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताउनुभएको छ ।

नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित भए पनि सङ्गठनले सीमित साधनस्रोतलाई अधिकतम परिचालन गरी जीवनस्तर उकास्न विभिन्न प्रयास गरिरहेको छ ।”

बलाधिकृत रथी सरोजप्रताप राणाले भूपु सैनिकले समाजमा गरेको योगदान र अनुशासनले सङ्गठनको ओझ बढाएको बताउनुभयो । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा सञ्चालित सहुलियत कर्जा ३२ हजार ७७३ जनाले रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा सुविधा लिइ भूपु सैनिक र उनका परिवारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय भूपु सैनिक सङ्घका सभापति दिगम्बर शर्मा राणाले कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कार्यक्रमबाट भूपु सैनिक र परिवारजनलाई जीवनस्तर उकास्न प्रत्यक्ष र परोक्ष सहयोग पुगिरहेको बताउनुभयो । अवकाश सैनिककोतर्फबाट अवकाश प्राविधिक रथी प्रतिनिधि पूर्वरथी अम्मर पन्तले भूपु सैनिकको आर्थिक सामाजिक जीवनस्तर उठाउने लक्षित कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

गोरखा, लमजुङ र तनहुँका भूपु सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा छ हजार चार सय जनाको सहभागिता थियो । सम्मेलनमा भूपु सैनिक र एकल महिलालाई सम्मान अपाङ्ग तथा अशक्तलाई ह्लिचियर वितरण लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो ।

सो अवसरमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा राष्ट्रसेवामा पठाउने मातापितालाई सम्मान गरियो । सम्मेलनमा जिल्लागत झाँकीका साथै राष्ट्रिय एकता झल्कने सामूहिक नृत्य सैनिक व्याण्ड प्रस्तुत गरियो । सम्मेलनका क्रममा खुकुरी ड्रिल, तेक्वान्दो तथा पिटी सामूहिक प्रदर्शन गरिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.