आर्थिक राहतको व्यवस्था गर्न माग

Share Icon

१ फागुन,काठमाडौँ । साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् ।

उद्योगी तथा व्यवसायीको छाता सङ्गठनले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका हुन् । सो अवसरमा व्यवसायी नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र साना उद्योगी तथा व्यवसायीले जोगाएको जनाउँदै साना उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना तथा मझौला व्यवसायी परेको बताउनुभयो । उहाँले बैँक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले पछिल्लो अवस्थामा बैंक फाइदामा र लगानीकर्ता घाटामा गएको बताउनुभयो । सबैको पेसा व्यवसाय बामे सरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा व्यवसायी परेको उहाँको भनाइ थियो ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताउनुभयो । साना तथा मझौला व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैँक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उहाँको भनाइ थियो ।

ग्रील तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवाल, नेपाल निर्माण व्यवसायी महासङ्घ काठमाडौँका अध्यक्ष अच्युतम कटुवाललगायतले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण कयौँ उद्योग बन्द हुने अवस्थामा पुगेको जनाउँदै त्यस्ता उद्योगलाई बचाउनका लागि सरकारले विशेष नीति अगाडि सार्नुपर्ने बताउनुभएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.